रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को च्याम्पियन बनेको छ।

रोमाञ्चक फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेङ्गलुरुले उपाधि रक्षा गरेको हो।

आइतबार अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो नरेन्द्र मोदी स्टेडियममा बेङ्गलुरुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

पहिले ब्याटिङको निम्तो पाएको गुजरातको सुरुवात भने सम्झनलायक हुन सकेन। निर्धारित २० ओभरमा गुजरातले ८ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो।

गुजरातका लागि वासिङ्टन सुन्दरले अविजित रहँदै ५० रनको संघर्षपूर्ण अर्धशतकीय पारी खेले। कप्तान शुभमन गिल (१२ रन) र साई सुदर्शन (१० रन) सस्तैमा पेभिलियन फर्किएपछि टोली दबाबमा आएको थियो।

त्यसपछि आएका निशान्त सिन्धु (२०), जोस बटलर (१९), अरशद खान (१५) र राहुल तेवटिया (७) ले पनि ठूलो स्कोर बनाउन सकेनन्।

बेङ्गलुरुको बलिङतर्फ रशिख सलामले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ३ विकेट लिए भने भुवनेश्वर कुमार र जोस हेजलवुडले समान २-२ विकेट आफ्नो नाम गरे।

१५६ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको बेङ्गलुरुले १८ ओभरमै ५ विकेट गुमाएर १६१ रन बनाउँदै लक्ष्य सजिलै पूरा गर्‍यो। बेङ्गलुरुलाई च्याम्पियन बनाउन विराट कोहली नायक बने।

उनले सानदार ब्याटिङ गर्दै अविजित ७५ रनको महत्त्वपूर्ण पारी खेले।

सूर्यवंशीलाई ओरेन्ज क्याप पक्का यस सिजनको ‘ओरेन्ज क्याप’ सूर्यवंशीले जित्ने पक्का भएको छ। उनले १६ खेलमा सर्वाधिक ७७६ रन बनाएका छन्।

उनीपछि गुजरात टाइटन्सका शुभमन गिल (७३२ रन) र साई सुदर्शन (७२२ रन) रहेका छन्। फाइनल खेलमा यी दुवै ब्याटर आउट भएसँगै सूर्यवंशीको शीर्ष स्थान सुरक्षित भएको हो।