चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले भक्तपुरको दुवाकोटस्थित जग्गा ६ दिनभित्र खाली गर्न नेपाल इन्जिनियरिङ कलेजलाई अल्टिमेटम दिएको छ।
वीर अस्पतालको विस्तारित परियोजनाअन्तर्गत विशिष्टीकृत अस्पतालको भौतिक संरचना निर्माण प्रक्रिया अघि बढाउन प्रतिष्ठानले कलेजलाई पत्राचार गर्दै जग्गा खाली गर्न निर्देशन दिएको हो।
सहरी विकास तथा भवन निर्माण विभाग र गुरु मेटल-गोकर्ण जेभीबीच सो स्थानमा भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले निर्माण कार्य तत्काल सुरु गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ।
न्याम्सले आफ्नै भौतिक संरचना निर्माणका लागि जग्गा उपलब्ध गराउन कलेजलाई ताकेता गरेको हो।
स्वास्थ्य मन्त्रालयले गत २०८३ वैशाख ३० गते सरकारी जग्गा संरक्षण गरी आफ्नै भौतिक संरचना निर्माण गर्न दिएको निर्देशनअनुसार यो कदम चालिएको प्रतिष्ठानले बताएको छ।
प्रतिष्ठानका अनुसार विगत तीन वर्षदेखि जग्गा खाली गरिदिन पटक-पटक पत्राचार गरिए पनि कलेजले अटेर गर्दै आएको थियो।
सरकारले सात वर्षअघि नै दुवाकोटमा १५ सय शय्याको अत्याधुनिक र विशिष्टीकृत अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो। लामो समयदेखि जग्गा विवादका कारण रोकिएको यो महत्त्वाकाङ्क्षी परियोजना अब ठेक्का सम्झौता भई निर्माणको चरणमा प्रवेश गरेपछि न्याम्सले जग्गा खाली गराउन लागेको हो।


प्रतिक्रिया