राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मा विपक्षी दलहरूले गरिरहेको विरोध र बहिष्कारलाई लक्षित गर्दै अहिले उनीहरूको समय भएको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधि सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि संसद् भवनबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।
सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भने, ‘अहिले प्रतिपक्षसँग कुरा गर्ने बेला हो साथी हो, प्रतिपक्षलाई सोध्ने बेला हो, सत्तापक्षको पालो आउँदैछ।’
प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर विपक्षीले गरेको चर्को नाराबाजी र सदन बहिष्कारको घटनालाई उनले स्वाभाविक लोकतान्त्रिक प्रक्रियाका रूपमा अर्थ्याएका छन्।
प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै विपक्षी ४ दलले बैठक बहिष्कार गरेका थिए।
विपक्षीको अनुपस्थिति र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच बहुमतले सरकारको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो।
सदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट बहुमत रहेकाले विपक्षीले पेस गरेका सबै संशोधन प्रस्तावहरू अस्वीकृत भएका थिए। संसद् भवनबाट बाहिरिएर आफ्नो सवारी साधनमा चढ्दै गर्दा लामिछानेले प्रतिपक्षलाई आफ्नो भूमिका निर्वाह गर्न दिने र त्यसपछि सरकारले परिणाममुखी काम गरेर देखाउने सङ्केत गरे।


प्रतिक्रिया