नेपालका १० खेलाडीले टर्कीमा हुने आइकेएफ २२औं विश्व केम्पो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
सोमबारदेखि टर्कीको अन्टाल्यामा आगामी अप्रिल २६ तारिखसम्म २२औं विश्व केम्पो च्याम्पियनसिपमा हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालको तर्फबाट ६ पुरुष र चार महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । नेपाल केम्पो खुकुरी फेडेरेसनको टोली सोमबार च्याम्पियनसिपमा सहभागिता जनाउन टर्की प्रस्थान गरेको छ ।
फेडेरेसनका अध्यक्ष पाभेल शाहको नेतृत्वमा नेपाली टोली अन्टाल्या प्रस्थान गरेको हो । महिलातर्फ सेमी केम्पो ५० केजी तौलसमूहमा अञ्जना शाही, सेमी केम्पो २२ केजीमा प्रिशा राज्यलक्ष्मी शाह, सेमी केम्पो २५ केजीमा आइरा गौतम र मोनालिशा धामीले सेमी केम्पो ३५ केजीमा प्रतिस्पर्धा गर्नेछन् । अञ्जनाले काता र सेल्फ डिफेन्स तथा इराले कातामा पनि चुनौती प्रस्तुत गर्ने फेडेरेसनका अध्यक्ष पाभेलले जानकारी दिए ।
पुरुष सेमी केम्पोतर्फ सुरेश पराजुलीले ६५ केजी तौलसमूहमा, सुलभ श्रेष्ठले ३० केजीमा र कृदिक्स विक्रम कुँवरले २५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । दिलमान लामाले २५ केजी फुल केम्पो, काता र सेल्फ डिफेन्स विधामा खेल्नेछन् ।
यमन पाण्डेले ५० केज तौलसमूहमा फुल केम्पो, सेमी केम्पो, सबमिसन, सेल्फ डिफेन्स र कातामा गरी पाँच विधामा चुनौती प्रस्तुत गर्ने प्रशिक्षकसमेत रहेकी अञ्जना शाहीले जानकारी दिइन् । शिवहरी राईले ५५ केजी तौलसमूहमा सेमी केम्पो र फुल कम्पोमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनले काता र सबमिसनमा पनि चुनौती प्रस्तुत गर्नेछन् ।
बिदाइ कार्यक्रममा अध्यक्ष पाभेल शाहले खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर दै पदक जितेर देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गरे । ‘हाम्रा खेलाडीहरू कडा मेहनत र समर्पणका साथ तयारीमा जुटेका छन् । उनीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको लागि धेरै पदक ल्याउनेछन् भन्नेमा विश्वस्त छौं,’उनले भने । खेलाडीले पनि राम्रो प्रदर्शन गरेर नेपालको नाम उच्च राख्ने प्रतिबद्धता जनाएका छन् । नेपाल केम्पो खुकुरी फेडेरेसनले पनि सबै खेलाडीले उत्साह र आत्मविश्वासका साथ प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया