‘नेपालमा केही गर्न सकिँदैन, विदेश जानुपर्छ’ भन्ने मनोविज्ञानले यतिबेला धेरै युवालाई वैदेशिक रोजगारीतर्फ धकेलिरहेको छ। तर, भोजपुरका ३६ वर्षीय राज कार्की भने वैदेशिक यात्राको उल्टो धारमा हिँडिरहेका छन्।

‘विदेशमा काम गर्न होइन, घुम्न जानुपर्छ। काम त आफ्नै माटोमा गर्नुपर्छ,’ उनी भन्छन्। उनको व्यवसाय हो, सुट माला टेलरिङ। टेलरिङ व्यवसाय बजारमा छ्यापछ्याप्ती भए पनि कार्कीको काम गर्ने शैली, दृष्टिकोण र उद्देश्य फरक छ। त्यसकारण उनी भिडमा पनि उदाहरणीय बनेका छन्।

उनले टेलरिङलाई केवल सिलाइकटाइको व्यवसाय बनाएका छैनन्, उनले यसलाई संस्कृतिसँग जोडेका छन्।

‘पुरानो कोट ल्याउनुहोस्, नयाँ लैजानुहोस्’ भन्ने अनौठो ‘अफर’ देखि लिएर घर-घरमा सुट पुर्‍याउने सेवासम्म आफूले दिँदै आएको उनी बताउँछन्।

‘सुट आम मानिसको पहुँचमा होस्, नेपाली पोसाकसँग मानिस रमाउन्’ भन्ने उनको मूल उद्देश्यका साथ आफूले व्यवसाय थालेको सुनाए।

‘मेरो आफ्नै जीवनशैली पनि सुटसँगै जोडिएको छ,’ उनी भन्छन्, ‘म हरेक दिन सुट लगाएर हिँड्छु।’ उनी ठान्छन्, बजारमा सुट लगाउने मानिसको संख्या बढेसँगै विदेशी ब्रान्डको मोहभन्दा आफ्नै देशमा बनेको पोसाकप्रति गर्व बढोस्। ‘सुट माला टेलरिङका ग्राहक केवल ग्राहक हुँदैनन्,’ उनी भन्छन्, ‘यहाँ आफ्नोपनको आभास गराइने हुँदा गहिरो सम्बन्ध स्थापना हुन्छ।’

उद्यमी कार्की आफ्ना ग्राहकलाई पहिरनबारे निःशुल्क परामर्शसमेत दिन्छन्। कुन सुट कसरी लगाउने ? नेपाली पोसाक कसरी मिलाउने ? बजारको ट्रेन्ड के छ ? यी र यस्ता विषयमा महत्वपूर्ण जानकारी खुलेर ग्राहकलाई बाँड्ने उनको बानी छ।

सिलाइको कपडा लगाउने व्यक्तिको व्यक्तित्व नै फरक हुने उनको बुझाइ छ। यति मात्रै होइन, सुटसँगै स-साना उपहार दिएर ग्राहकलाई सम्मान गर्ने हुनाले सर्वसाधारणदेखि उच्च तहका व्यक्तिसम्म उनीकहाँ निर्धक्क पुग्छन्।

विवाह लगनको समयमा आफ्नो व्यापार बढ्ने गरेको उनी सुनाउँछन्। बेहुलादेखि जन्तीसम्म सुटपाइन्टमा सजिन खोज्ने हुँदा टेलरिङ व्यवसाय मौलाउने गरेको उनको भनाइ छ।

उद्यमी कार्कीको खुसी त्यतिबेला दोब्बर हुन्छ, जतिबेला विदेशमा बस्ने नेपालीहरू नेपाल आउँदा उनको पसलबाट सुट सिलाएर लैजान्छन्।

कार्कीका अनुसार आजको बजार रेडिमेड कपडाले भरिएको छ। सस्ता, चम्किला र सजिलै पाइने कपडाले उपभोक्तालाई लोभ्याएका छन्। तर उद्यमी कार्कीले ‘रेडिमेड’ र ‘हेन्डमेड’ बिचको फरकलाई गहिरो रूपमा बुझाउने गरेको बताए।

‘विदेशका समारोह, उत्सव र फोटो सुटमा नेपाली सुट लगाएर खिचिएका तस्बिर देख्दा मन आनन्दित हुन्छ,’ उनले भने, ‘कमसेकम नेपाली पोसाक विदेशमा पनि रमाइरहेको छ। युरोप र अमेरिकातिर हेन्डमेड कपडा लगाउने मान्छेको स्तर नै फरक मानिन्छ। तर हाम्रो समाजमा अझै पनि रेडिमेडलाई प्राथमिकता दिइन्छ।’

यस्तो सोच बदलिनुपर्ने आवश्यकता उनले औंल्याए। उनलाई विदेशमा सुट निर्यात व्यापारभन्दा पहिचानको विस्तार लाग्छ।

टेलरिङ व्यवसायमा सफल हुनुअघि आफ्नो जीवनयात्रा सरल नभएको उनी बताउँछन्। २०६२ देखि २०७४ सालसम्म उनले काठमाडौंमा विद्यालय सञ्चालन गरे।

२०७३ सालको भूकम्पपछि उनी भिजिट भिसामा युएई पुगे र आठ–नौ महिना उतै बसे। तर विदेशको बसाइले उनलाई अर्काको देशमा रमाउन नसकिने रहेछ भनेर एउटा अनुभूति दिलायो।

उनका अनुसार अर्काको देशमा त्यहीको चालचलनमा बाँधिन धेरै गाह्रो हुन्छ। ‘त्यसमाथि अरूको मातहत र नियन्त्रणमा बसेर काम गर्नुपर्दा चित्त बुझ्दै बुझ्दैन,’ उनी भन्छन्, ‘यस्तै कारणले गर्दा म नेपालमा आफ्नै व्यवसाय सञ्चालन गर्छु भनेर फर्किएको हुँ,’ उनले भने।

नेपालमा आफ्नै व्यवसायमा रमाएका कार्की अहिले आफू स्वतन्त्र, सन्तुष्ट र सिर्जनशील भएको अनुभव गर्छन्।

अरूको लाज छोप्न विकास भएको पोसाक आफूले उत्पादन गर्दा धेरै गर्व लागेको उनले बताए। ‘लाज छोप्न विकास भएको नेपाली पोसाकलाई माया गर्नुपर्छ,’ उनले भने, ‘जसरी हामी नेपाली माटोलाई माया गर्छौं त्यसरी नै नेपाली पोसाकलाई पनि माया गर्नुपर्छ।’

उपभोक्ताले सिपलाई सम्मान गरे, व्यवसायीले पहिरनलाई फेसनसँग जोडे र राज्यले पनि यस्तो अभियानमा साथ दिए टेलरिङ व्यवसाय केवल व्यवसायमै सीमित नरहेर संस्कृति र सम्भावनाको पहिचान बन्न सक्नेमा उनी विश्वस्त देखिन्छन्।

आजको युग परिवर्तनको तीव्र गतिमा दौडिरहेको छ। विज्ञान र प्रविधिले संसारलाई मुठीभित्र सीमित बनाइदिएको छ। विशेष गरी युवा पुस्ता आज प्रविधिले भरिएको संसारमा पनि भविष्यहीन र चिन्तित देखिन्छ। तर, विदेश मोहको भिडमा उभिएर आफ्नै बाटो रोजेका उद्यमी कार्की आज युवाका लागि एउटा उदाहरण बनेका छन्।