बजारमा मागको तुलनामा आपूर्ति कम भएपछि केराको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ।
‘टिआर–४’ नामक रोग भित्रिने जोखिमका कारण सरकारले भारतीय केरा आयातमा रोक लगाएपछि त्यसको प्रत्यक्ष असर बजार मूल्यमा परेको हो। अहिले खुद्रा बजारमा उपभोक्ताहरू प्रतिदर्जन २५० देखि ३५० रुपैयाँसम्म तिरेर केरा किन्न बाध्य छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार थोक बजारमै केराको मूल्य अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले बढेर प्रतिदर्जन औसत २२५ रुपैयाँ पुगेको छ।
केही महिनायता हरेक दिनजसो मूल्य बढिरहँदा अघिल्लो दिनको भाउमा भोलिपल्ट केरा पाउन मुस्किल हुने अवस्था सिर्जना भएको छ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जैविक सुरक्षाको कारण देखाउँदै गत असोज २ गतेदेखि केरा आयातको नयाँ प्रवेश अनुमतिपत्र जारी गर्न बन्द गरेको छ।
केन्द्रका सूचना अधिकारी रोशन अधिकारीका अनुसार चितवन कैलाली र नवलपरासीका केरा फार्ममा ढुसीजन्य टिआर–४ रोग देखिएपछि स्रोत पहिचान र नियन्त्रणका लागि आयात रोकिएको हो। ‘यो रोग व्यापक रूपमा फैलियो भने देशभरको केरा बाली पूर्ण रूपमा नष्ट हुन सक्ने जोखिम छ,’ उनले भने।
तर, वैध बाटोबाट आयात रोकिँदा बजारमा बिचौलियाको राज चलेको र अवैध रूपमा भित्रिएका केरा जताततै महँगोमा बिक्री भइरहेको व्यवसायीहरूको गुनासो छ।
यता, किसानहरूले भने आफूहरूले मूल्य नबढाएको दाबी गरेका छन्। नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले किसानले प्रतिदर्जन ६० देखि ८० रुपैयाँमा बेचिरहेको केरा बिचौलियाका कारण उपभोक्तासम्म पुग्दा महँगो भएको बताए।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका वरिष्ठ योजना अधिकृत इन्द्र शर्मा ढुंगानाका अनुसार नेपालमा वार्षिक खपत हुने करिब ४ लाख ४० हजार मेट्रिक टन केरामध्ये करिब १२ देखि १४ प्रतिशत मात्रै आयात गर्नुपर्ने अवस्था छ।
स्वदेशी उत्पादनले बजार धान्ने दाबी भइरहँदा काठमाडौंका बजारमा अझै ५० प्रतिशत भारतीय केरा नै बिक्री भइरहेको उनले बताए।
अवैध आयात नियन्त्रण गर्न प्रशासनले कडाइ थालेको छ। हालै मात्र भक्तपुर जिल्ला प्रशासन कार्यालयले जडीबुटीबाट अवैध भारतीय केरा जफत गरी नष्ट गरेको थियो।


प्रतिक्रिया