गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका आरोप र सञ्चारमाध्यममा आएका समाचारहरू प्रायोजित हल्ला भएको दाबी गरेका छन्।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले भ्रष्टाचारीहरू डराएर यस्तो भ्रम फैलाएको दाबी गरेका हुन्।
व्यवसायी दीपक भट्टसँग जोडिएको ‘स्टार माइक्रो इन्स्योरेन्स’ कम्पनीमा आफ्नो सेयर रहेको कागजात सार्वजनिक भएपछि चौतर्फी राजीनामा र छानबिनको माग उठिरहेका बेला गृहमन्त्री गुरुङले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले राष्ट्रको ढुकुटी लुट्नेहरूविरुद्धको कारबाही भने नरोकिने स्पष्ट पारे।
‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्,’ गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो।’
उनले आफूविरुद्ध नियोजित रूपमा लागिएको भन्दै असन्तुष्टि समेत पोखे। ‘कारबाही रोकिँदैन, डगमगाइँदैन,’ उनले थपे, ‘दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सरकारको नेतृत्व गरिरहेका गुरुङमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायीसँग साझेदारी गरेको आरोप लागेपछि प्रतिपक्षी दललगायतले संसद् र बाहिर राजीनामा माग गरिरहेका छन्।


प्रतिक्रिया