देशकै जेठो वीर अस्पतालले १४ बुँदे सुधार कार्यविधि लागू गरेसँगै बिरामीको सेवा प्रवाहमा व्यापक सुधार आएको छ।
विद्युतीय टोकन प्रणाली जडान र कर्मचारीलाई प्रत्यक्ष जिम्मेवार बनाउने नीति कार्यान्वयनमा आएपछि वर्षौँदेखिको अस्तव्यस्त लाइन र भिडभाड हटेर अस्पतालको सेवा व्यवस्थित बनेको हो।
अस्पतालको बहिरङ्ग विभाग (ओपीडी), प्रयोगशाला (ल्याब) र रेडियोलोजी लगायतका सबैजसो विभागमा अहिले बिरामीले व्यवस्थित रूपमा सेवा पाइरहेका छन्।
बिरामीहरू कुर्सीमै बसेर आफ्नो पालो पर्खिने र डिजिटल बोर्डमा पालो आएपछि मात्र सेवा लिन जाने व्यवस्था मिलाइएको छ।
सबैभन्दा बढी भिड हुने इन्डोक्राइन विभागमा टोकन प्रणालीको बोर्ड जडान भइसकेको छ भने कर्मचारीहरू ढोकामै खटिएर पालो व्यवस्थापन गरिरहेका छन्।
अस्पतालका सहायक निर्देशक डा. मीनचन्द्र अधिकारीले अस्पतालका सबै भिडभाड हुने विभागमा यो प्रणाली विस्तार गर्न लागिएको जानकारी दिए। ‘भिडभाड हुने सबै विभागमा विद्युतीय टोकन प्रणाली विस्तार गर्दैछौँ,’ उनले भने।
अस्पतालका मेडिकल बोर्डका सदस्य अरुण महतोले एक साताअघि जारी भएको १४ बुँदे अस्पताल सुधार कार्यविधिले यो सकारात्मक परिवर्तन ल्याएको बताए।
रिपोर्ट प्रिन्टमा प्रयोग हुने स्क्यान प्रविधिले थप सहजता ल्याएको बताउँदै उनले भने, ‘कार्यविधिले हरेक कर्मचारीलाई आफ्नो क्षेत्रको कमजोरी र सफलताको जिम्मेवारी दिएपछि सुधार भएको हो।’
आफ्नो क्षेत्रमा काम बिग्रेको जिम्मेवारी कर्मचारी स्वयंले लिनुपर्ने भएपछि अस्पतालको सेवामा उल्लेख्य सुधार आएको उनको भनाइ छ।
बिरामीलाई कुन सेवा कहाँबाट लिने भनेर सहज जानकारी दिन अस्पतालका हरेक तला र क्षेत्रमा इन्डिकेटर (संकेत बोर्ड) को व्यवस्था गरिएको छ।
अस्पतालका सम्पूर्ण कर्मचारी पूर्ण रूपमा ड्युटीमा खटिएको दृश्य जोकोहीले अवलोकन गर्न सक्ने अवस्था बनेको छ।
अस्पताल निर्देशक अधिकारीका अनुसार समस्या देखिएका सबै एकाइमा सुधार कार्यक्रम सञ्चालन भइरहेको छ। फार्मेसीमा ८ वटा काउन्टर सञ्चालनमा रहे पनि जनशक्ति अभावले देखिएको ढिलाइ समाधान गर्न २ जना फर्मासिस्ट थप्न लागिएको छ।
यसका साथै, अन्य वार्डहरूको सहजताका लागि थप ५० जना नर्सको दरबन्दी माग गरी पठाइएको छ।
अस्पतालले क्यास काउन्टर विस्तार, पुराना संरचनाको मर्मत गरी ओपीडी र क्लिनिकल सेवामा स्वच्छता कायम गर्ने, शौचालय मर्मत तथा आकस्मिक कक्षको पुनर्निर्माण र विस्तारलाई तीव्रता दिएको छ।
पछिल्लो समय अस्पतालको रूपान्तरणबारे बोल्दै सहायक निर्देशक डा. अधिकारीले भने, ‘सेवामा कस्तो सुधार भएको छ, जसले पनि अवलोकन गर्न सक्छन्।’


प्रतिक्रिया