२५औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता तथा दोस्रो यु-१५ आइटिएफ प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा आयोजना हुने भएको छ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (एनआइटिएफ) को आयोजनामा यो दुईदिने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ।
महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार प्रतियोगितामा जुनियर र सिनियर गरी दुवैतर्फ प्याटर्न र स्पाइरिङ विधामा कुल दुई सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा सातवटै प्रदेशसहित नेपाल आर्मी र सशस्त्र प्रहरी बल (एपिएफ) गरी कुल ९ टोलीको सहभागिता रहनेछ।
खेलाडीहरूले विभिन्न विधाअन्तर्गत एकल स्पारिङ, एकल प्याटर्न, समूह स्पारिङ, समूह प्याटर्न तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा गर्नेछन्।
यु-१५ विद्यालय प्रतियोगिता उमेर समूहमा २० स्वर्ण, २० रजत र ४० कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। यसअन्तर्गत एकल स्पारिङतर्फ पुरुष तथा महिलामा २०/२५ केजीदेखि ४५/५० केजीसम्मका तौल समूह समावेश गरिएको छ।
एकल प्याटर्नमा हरियो, निलो, रातो बेल्ट तथा प्रथम डानका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ भने समूह स्पारिङ र प्याटर्नमा ५/५ जना र सेल्फ डिफेन्समा ३ देखि ५ जनासम्म सहभागी हुनेछन्।
यस्तै, सिनियर राष्ट्रिय प्रतियोगितामा ३३ स्वर्ण, ३३ रजत र ६६ कांस्य पदकका लागि खेल हुनेछ। पुरुषतर्फ ४५/५० केजीदेखि ८५ केजीमाथिसम्म र महिलातर्फ ४०/४५ केजीदेखि ७० केजीमाथिसम्मका तौल समूह समेटिएका छन्।
एकल प्याटर्नमा हरियो, निलो, रातो बेल्टका साथै प्रथम, दोस्रो र तेस्रो डानका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।
महासङ्घका कोषाध्यक्ष विक्रम बाठा मगरका अनुसार जुनियर र सिनियर दुवैतर्फ शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले ट्रफी प्राप्त गर्नेछन्।
साथै, दुवै समूहमा बेस्ट फाइटरलाई पनि ट्रफी प्रदान गरिनेछ।


प्रतिक्रिया