नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर नैतिक जिम्मेवारी लिँदै सभापति थापाले उपसभापति समक्ष विधानको धारा २६ (१) अनुसार बुझाएका थिए। राजीनामालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गरेको हो।
बैठकमा निर्वाचन परिणामको समीक्षा गर्दै सभापतिले आफ्नो जिम्मेवारीबोधका आधारमा राजीनामा पेश गरेको भए पनि पार्टीको केन्द्रीय नेतृत्वले त्यसलाई स्वीकार नगर्ने निर्णय गरेको हो।
कार्यसमितिले वर्तमान परिस्थितिमा नेतृत्व परिवर्तनको सट्टा संगठन सुदृढीकरण, आगामी रणनीति निर्माण र पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने आवश्यकता रहेको निष्कर्ष निकालेको छ। यसै सन्दर्भमा बैठकले सभापतिको निरन्तरता आवश्यक रहेको ठहर गर्दै उनकै नेतृत्वमा आगामी कार्यहरू अघि बढाउने निर्णय गरेको छ।
बैठकले निर्वाचन परिणामपछि देखिएका चुनौतीहरूको समीक्षा गर्दै पार्टीभित्र सुधारका कार्यक्रम अघि बढाउने र जनअपेक्षा अनुसार संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
यस निर्णयसँगै सभापति थापाको राजीनामा सम्बन्धी विवाद टुंगिएको छ र पार्टी नेतृत्व यथावत रहने भएको छ।


प्रतिक्रिया