चितवन। चितवनको राप्ती नगरपालिका–९ स्थित श्री लेकाली आधारभूत विद्यालयका विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमका बीच शैक्षिक सामग्री तथा पोसाक वितरण गरिएको छ। मिलिजुली सामाजिक प्रतिष्ठान र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा उक्त सहयोग कार्यक्रम सम्पन्न भएको हो।
विद्यालयमा अध्ययनरत कुल ७६ जना विद्यार्थीहरूलाई विद्यालय पोसाकको रूपमा ट्रयाकसुट, कोशेली छाला जुत्ता र आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गरिएको छ। दुर्गम क्षेत्रका र आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरूलाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले यो सहयोग उपलब्ध गराइएको आयोजकले जनाएको छ।
वैवाहिक वर्षगाँठको अवसरमा सामाजिक सेवा
विशेषतः मिलिजुली सामाजिक प्रतिष्ठानकी संरक्षक रारा सैंजुको ३१ औं वैवाहिक वर्षगाँठको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो। आफ्नो खुसीको पललाई सेवामा बदल्दै उहाँले विपन्न बालबालिकाहरूको मुहारमा मुस्कान ल्याउने प्रयास गर्नुभएको हो।
कार्यक्रममा बोल्दै संरक्षक सैंजुले भन्नुभयो, “दुर्गम क्षेत्रका बालबालिकाहरूलाई शिक्षाको मूलधारमा जोड्न र उनीहरूको हौसला बढाउन हामीले सानो सहयोग गरेका हौँ। आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनेछौँ।”
सम्झना गौतमले संयोजन गर्नुभएको उक्त कार्यक्रममा मिलिजुली सामाजिक प्रतिष्ठानकी संरक्षक रारा सैंजु, अन्तर्राष्ट्रिय जेसिसका पूर्व उपाध्यक्ष अनुपमान सैंजु,
मिलिजुली सामाजिक प्रतिष्ठानका अध्यक्ष माधव शर्मा, प्रतिष्ठानका अन्य सदस्यहरू शिक्षक तथा स्थानीय अभिभावकहरूको उपस्थिति रहेको थियो ।
दुर्गम पहाडी भेगमा रहेको यस विद्यालयका विद्यार्थीहरूले नयाँ पोसाक र शैक्षिक सामग्री पाएपछि खुसी व्यक्त गरेका छन्। कार्यक्रमले विपन्न समुदायका बालबालिकाको विद्यालय उपस्थितिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।





प्रतिक्रिया