काठमाडौं, २०८२ मंसिर ७ गते। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई आज सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ। उहाँका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो।

​सर्वोच्च अदालतले आज (मंसिर ७ गते) प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएपछि काठमाडौं जिल्ला प्रहरी परिसरबाट उहाँलाई बिहान ११ बजेर १८ मिनेटमा रामशाह पथस्थित सर्वोच्च अदालतमा ल्याइएको थियो।

​संयुक्त इजलासमा सुनुवाई

​न्यायाधीशद्वय श्री नहकुल सुवेदीश्री श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटमाथि सुनुवाई भएको थियो। प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उहाँका छोरा निराजनले गत मंसिर ३ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो।​इजलासमा कानुन व्यवसायीहरूबीच भएको बहस दिउँसो ३ बजेर २० मिनेटमा समाप्त भएको थियो। बहस समाप्त भएपश्चात् सर्वोच्च अदालतले आजै साँझ ६ बजेर ५० मिनेटमा प्रसाईंको हकमा थुनामुक्त गर्न आदेश जारी गरेको हो।