काठमाडौ २९ कार्तिक । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले वडाबासीलाई सार्वजनिक सेवा प्रवेशमा प्रोत्साहित गर्न खरिदार र नायव सुब्बा पदका लागि लोकसेवा कक्षामा सहभागी गराउने भएको छ । कार्तिक २८ गते सूचना प्रकाशित गर्दै स्थानीयबाट कक्षामा सहभागी हुन आवेदन माग गरेको छ ।

‘परिवार तथा छिमेकीहरु सार्वजनिक सेवामा नभएपछि स्थानीयबासीमा यसप्रति चाह नै भएन । जसकारण निजामति तथा स्थानीय सेवामा महानगरबासीको संख्या कम छ ।’ वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जन भन्नुहुन्छ, ‘लोकसेवा कक्षामा सहभागी गराएर वडाबासीलाई सार्वजनिक सेवाका लागि प्रोत्साहित गर्न लागेका हौँ । १५ जनादेखि २० जनासम्मलाई पहिलो चरणमा सहभागी गराउँछौँ ।’

३५ वर्षसम्मका पुरुष र ४० वर्षसम्मका महिलालाई कक्षामा सहभागी गराइने, सूचनामा उल्लेख छ ।

इच्छुकलाई आवेदनसँगै शैक्षिक योग्यताको प्रमाण पत्र, नागरिकता, बसाइँ सराई आएको भए बसाइँ सराइको प्रमाण पत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र इमेल ठेगाना माग गरिएको छ ।