काठमाडौं कार्तिक २३ गते भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नं १ सुकुम्बासी बस्ती स्थित सरस्वती आधारभूत विद्यालय प्राङ्गणमा राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईंको प्रमुख उपस्थितिमा एक परिचयात्मक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। सुकुम्बासी बस्ती बसोबास संरचना समान जिल्ला समितिका अध्यक्ष पदम सिजापतिको अध्यक्षतामा कार्यक्रम भएको ।

काठमाडौँ महानगरपालिकाले सुकुम्बासीहरू माथि गरेको ज्यादती रोक्नका लागि सुकुम्बासी आफैँ आफ्नो बल र तागतले लड्ने तथा त्यसका लागि तयारी अवस्थामा बस्नुपर्ने प्रसाईले बताएकाे । 

​बस्तीमा सम्बोधन गर्दै दुर्गा प्रसाईंले आफू बोल्न नजान्ने भन्दै चिप्ला कुरा गर्नेहरूले नै बास उठाउँदै गरेको तर्क गरे। उनले सुकुम्बासीहरूलाई हरेक चुनावमा मात्र प्रयोग गरिएको भन्दै यो समस्या निकै ठूलो रहेको बताए। मेयर बालेन शाहलाई लक्षित गर्दै प्रसाईंले ‘AC मा बसेर दारु खाने, स्टाटस लेख्ने र गरिबको घर भत्काउने’ काम मात्र भएको आरोप लगाए। उनले बालेनलाई यदि सुकुम्बासीसँग बस्न घृणा लाग्छ भने सरकारसँग भएको बजेट र सरकारी जग्गा प्रयोग गरी सुन्दर सिटि बनाएर उनीहरूको घर निर्माण गरिदिन चुनौती दिए। उनले दल र बालेनको अराजक गतिविधि अब चल्न नदिने दृढता व्यक्त गरे। उनले यो जग्गा बालेनको बुवाको नभई नेपाल सरकारको भएको र नेपाली जनताले बस्न पाउनुपर्ने अधिकार रहेको बताए। उनले ‘तपाईंलाई ठेगान लगाउने मान्छे थिएन, अब दुर्गा प्रसाईं आइसकेको छ भन्दै कडा चेतावनी दिए। उनले आफूले राजाको हातबाट दियो बालेर मेचीको किनारबाट सुरु गरेको यो अभियान ‘सामन्तवाद’ विरुद्धको तथा गाँस, बास, कपासको अधिकारको लडाइँ भएको प्रष्ट पारे।​प्रसाईंले सुकुम्बासीहरूलाई अब आउने मंसिर ७ गतेदेखि हुने नेपाल बन्द र काठमाडौँ बन्दसहितको अनिश्चितकालीन आन्दोलनमा पसल, दोकान बन्द गरेर सहयोग गरिदिन अनुरोध गरे। उनले यो आन्दोलन उनीहरूलाई बचाउने आन्दोलन भएको बताए। सम्बोधनको अन्त्यमा उनले ‘आजबाट हामी सुकुम्बासी होइनौँ, भूमि विहीन हौँ’ भन्दै नेपाल हाम्रो हो भन्ने सोच राख्न आग्रह गरे। कार्यक्रमपछि सुकुम्बासी बस्तीले मंसिर ७ गतेको आन्दोलनमा आफ्नो ऐक्यबद्धता जनाएको छ ।