काठमाडौँ २१ कार्तिक । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज, कार्तिक २१, २०८२ मा जयबागेश्वरीस्थित ब्रह्‍मा मन्दिरको समुद्‌घाटन गर्नुभएको छ। महानगरपालिकाको वडा नम्बर ८, जयबागेश्वरी, गायत्री मार्गमा रहेको उक्त मन्दिरको समुद्‌घाटन कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोल र सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गत सहित प्रमुख शाहको उपस्थिति रहेको थियो।

​समुद्‌घाटनपछि बोल्दै उपप्रमुख डङ्गोलले प्राचीन स्मारकको जीवनका रूपमा रहेका आकृतिहरू, मूर्तिहरू तथा कलाकृतिहरूको पुनर्निर्माणबाट सांस्कृतिक सहरको पहिचान पुनर्स्थापित गर्न लागिरहेको बताउनुभयो। मूर्ति स्थापनाको सन्दर्भमा उहाँले भन्नुभयो, “जहाँ मूर्तिको पूजा हुन्छ, मूर्तिको त्यहीँ राख्नुपर्छ। यसलाई हामीले अभियानका रूपमा अगाडि बढाएका छौँ।”

​यो मन्दिर हराएको १०० वर्षभन्दा बढी भइसकेको थियो। वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक सङ्गतका अनुसार १७७० सालअघि नै यो मन्दिर भग्नावशेष भएको र त्यसपछि झाडी मात्र रहेको थियो। पुरातत्त्व विभागको सहयोगमा मन्दिर भएको ठाउँमा उत्खनन् गरिएपछि यसको प्राचीनताको अध्ययन गरियो। अध्ययनबाट मन्दिर छैटौँ शताब्दीदेखि सातौँ शताब्दीको बीचमा निर्माण भएको अनुमान गरिएको छ। मन्दिरको बनावट र प्रकृतिसम्बन्धी दस्तावेज नपाइएपछि जग्गाको आकृति र प्रयोग भएको निर्माण सामग्रीको आधारमा पुरातत्त्वविद्‌हरूबाट रेखाङ्कन गराएर पुनर्निर्माण गरिएको हो।

​मन्दिरको चतुर्मुख ब्रह्‍माको मूर्ति गौशाला प्रहरी वृत्तमा राखिएको थियो। पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार कार्तिक १७ गतेको साइतमा प्रहरी परिसरबाट रथारोहण गरी मन्दिरमा लगेर पुन:स्थापना गराइएको हो। करिब २०३६ सालतिर चोरिएको यो मूर्ति चोरले टाढा पुर्‍याउन नसकेपछि छोडेर भागेका थिए, र त्यसपछि प्रहरीले मूर्तिलाई संरक्षणमा राखेको थियो।

​पशुपति क्षेत्र विकास कोषका पुरातत्त्व अधिकृत सुशीलकुमार गौतमले यस मूर्तिको विशिष्टता बारे जानकारी दिँदै भन्नुभयो, “मूर्तिमा ४ वटा टाउका छन्। छतितर्फको टाउकोले पश्चिम हेरेको छ। एउटा हातमा कमण्डलु र अर्को हातमा रुद्राक्षको माला बोकेको छ। २ वटा टाउका काँधमाथि छन् भने एउटा टाउको पछाडिपट्टि छ। यसकारण यो मूर्ति ब्रह्‍माको हो।” सामाजिक सञ्जालमा चलेको चर्चाबारे बोल्दै गौतमले भन्नुभयो, “मूर्ति ललितासनमा छ। यो ब्रह्‍माको आसन हो। नेपालमा ब्रह्‍माका २ वटा मूर्ति छन्; एउटा यही हो र अर्को चापागाउँमा छ।” उहाँका अनुसार, यहाँका विषयमा कुनै अभिलेख प्राप्त हुन सकेको छैन, जबकि चापागाउँमा रहेको मूर्तिको हकमा कुवेर गुप्त र आनिक गुप्तले निर्माण गराएको उल्लेख छ।

​आर्किटेक्ट डिजाइनर विनिता मगैयाका अनुसार, जग्गाबाट ३०० × २०० मिलिमिटरका ७२ वटा इँटाको उचाइमा मूर्तिको आसन छ। एउटा इँटा जति मूर्तिको जग छ भने मूर्ति १० वटा इँटाको उचाइ बराबरको छ। झाडी र फोहर थुपारिएको ठाउँमा मन्दिरको प्रारूप खोज्ने बेला साढे ८ मिटर लम्बाइ-चौडाइ भएको संरचना भेटिएको थियो। अहिले मन्दिरको पेटी २६ × २६ फिटको र मन्दिर १६ × १६ फिटको क्षेत्रफलमा बनाइएको छ।

​आर्किटेक्ट गौरव श्रेष्ठ का अनुसार, सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट १ करोड १२ लाख ५४ हजार रुपैयाँ लागतमा मन्दिर पुनर्निर्माण भएको हो। सडकबाट ५ फिट उचाइमा पेटी उठाएर मन्दिर निर्माण गरिएको छ। माटो, इँटा र काठको प्रयोगबाट पुनर्निर्माण भएको मन्दिर २३.५ फिट उचाइको दुई तले प्यागोडा शैलीको छ, जसको शिरमा ३ फिटको गजु राखिएको छ।

​संस्कृतिविद् मुकुन्दराज वैद्यका अनुसार, ब्रह्‍मा मन्दिरको पुनरुत्थानले ‘ग्लँ देँ’ क्षेत्रको प्राचीनतालाई पुनर्स्थापना गराउन मद्दत गरेको छ। ‘ग्लँ देँ’ को विशेषता भनेको तान्त्रिक विधि र प्राचीनतामा ९ अङ्कको प्रयोग हो। ग्लँ क्षेत्रमा ९ वटा पोखरी, ९ वटा ढुङ्गेधारा, ९ वटा इनार, ९ वटा ढोका, ९ वटा शक्तिपीठ, ९ वटा पाटीपौवा, ९ वटा डबली, ९ वटा टोल र ९ थरी जातहरू छन्। मन्दिरको उत्खनन् गर्दा जगमा ९ वटा कुण्ड भेटिएका थिए, जुन ‘ग्वलँ देँ’ (ग्लँ देश) निर्माणको प्राचीनता, धार्मिक आस्था र तान्त्रिक विधिसँग सम्बन्धित विशिष्टतासँग जोडिएको छ। मन्दिरको शिलाान्यास र जग पूजा २०८१ सालमा गरिएको थियो।