काठमाडौँ। नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङ्गले हालैको एक पूर्ण अन्तर्वार्तामा भदौ २३ र २४ गते भएका घटनाहरूमा सुरक्षा निकायले चालेका कदमहरूको कडा बचाउ गर्दै प्रहरीको वर्तमान मनोबलमाथि गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले प्रहरीको मुख्य दायित्व जनधनको सुरक्षा गर्नु रहेको स्वीकार गर्दै दुवै दिन भएको क्षति दुःखद भए पनि प्रहरीले यस्तो दुर्घटना नचाहेको स्पष्ट पारेका छन्।

​आईजीपी खापुङ्गका अनुसार, कर्तव्य पालनाका क्रममा प्रहरीले कहिलेकाहीँ माथिको आदेशबिना नै तत्काल कारबाही (एक्शन) गर्नुपर्ने अवस्था आउँछ। माओवादीको गोली लागेर आफू स्वयं घाइते भई भाग्यले बाँचेको दृष्टान्त दिँदै उनले प्रहरीले जोखिम मोलेर काम गर्ने बताए।

​पूर्व आईजीपी खापुङ्गका अनुसार, भदौ २३ मा जेन्जी युवाहरूको प्रदर्शन शान्तिपूर्ण हुने पूर्वअनुमान प्रहरीको थियो। तर, प्रदर्शनमा घुसपैठ भएको र राज्यको सम्पत्तिदेखि व्यक्तिगत सम्पत्तिसम्मको लुटपाट र विध्वंस हुनु आतङ्ककारी कार्य भएको उनको ठहर छ। उनले यस विषयमा छानबिन आयोगले काम गरिरहेकोले विस्तृतमा नबोल्ने बताए पनि बल प्रयोग गर्न आफूहरूलाई कसैको दबाब वा माथिको आदेश नभएको स्पष्ट पारे।

​उनले भदौ २३ मा निषेधित क्षेत्र तोड्दासम्म नेपाल प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा बाहेक ठूलो बल प्रयोग नगरेको दाबी गरे। आन्दोलनकारी संसद भवनको पर्खालसम्म आइपुग्दा रबरको गोलीसम्म हानिएको थियो। यद्यपि, जब आन्दोलनकारीले संसद भवनको पर्खाल भत्काउन, आगो लगाउन र गेट नाघेर भित्र प्रवेश गर्न थाले, त्यसपछि गोली चलाइएको थियो। उनले अन्य कुनै उपायले आन्दोलनकारी नरोकिएपछि संसद भवन र सरकारी सम्पत्ति जोगाउन बाध्य भएर गोली चलाउनेसम्मको बल प्रयोग प्रहरीले गरेको स्वीकार गरे।

​आईजीपी खापुङ्गको भनाइ छ, “प्रहरीले त्यो बल प्रयोग नगरेको भए भदौ २३ मै भदौ २४ को विध्वंस भैसकेको हुन्थ्यो।” यदि प्रहरीले कुनै एक्सन नलिएर भदौ २४ जस्तै छोड्देको भए आज सबै विध्वंसको अपजस सुरक्षा निकायलाई मात्र लाग्ने अवस्था आउने थियो भन्दै उनले सुरक्षा निकायलाई हातहतियार किन दिइएको हो भन्ने प्रश्न गरे। उनले आज भदौ २३ मा गोली चलाउने र भदौ २४ मा भएको विध्वंस रोक्न नसकेको दुवैको अपजस सुरक्षा निकायले लिनु परेको पीडा व्यक्त गरे।

​पूर्व आईजीपी खापुङ्गले नेपालमा आन्दोलनहरू सधैँ अराजक हुने र सुरक्षा निकायले नरोके तोडफोड, आगजनी र हिंसाको रूप लिने गरेको उल्लेख गरे। उनले अब हुने आन्दोलनहरूमा सुरक्षा निकायले यो सबै हुन दिने कि भन्ने गम्भीर प्रश्न उठाए। अराजकता रोक्न बल प्रयोग गर्दा र नगर्दा दुवैको दोषी प्रहरी नै हुनुपर्ने हो भने प्रहरी निकायको औचित्यमाथि नै उनले प्रश्न खडा गरे।

​उनले आगामी चुनावलाई लक्षित गर्दै ठूलो मात्रामा हतियार लुटिएको र मतदान बुथ तथा मतपेटिका कब्जा हुने अवस्था आएकोमा चिन्ता व्यक्त गर्दै चुनावमा सुरक्षा निकायले त्यो निर्वाध हुन दिने कि के गर्ने भनी सरकारलाई प्रश्न गरेका छन्। अन्तर्वार्ताको अन्त्यमा उनले भने, “कानुनले नै प्रष्ट निर्देशन नगर्दासम्म अब प्रहरीको मनोबल खसी र दोसल्लाले माथि उठ्ने छैन। अब हरेक पटक कर्तव्य पालना गर्नेबेला प्रहरी पछाडि हट्नुपर्ने अवस्था रहनेछ।”

​अन्तर्वार्तामा उनले भदौ २३/२४ को घटना छानबिन आयोगले फिल्डमा खटिएका प्रहरी अधिकृत र जवानहरूको नाम मागेकोमा आफूहरूले एकमुष्ट विभागमा काम गर्ने सबैको नाम दिएको जानकारी गराए। उनले उक्त घटनाको जिम्बेवार र प्रभावित कुनै निश्चित प्रहरी मात्र नभएको भन्दै छानबिनको प्रक्रियामा समेत असन्तुष्टि जनाएका छन्।