काठमाडौं, २०७२ कार्तिक १७ गते अर्थ मन्त्रालय, सिंहदरबारमा अर्थमन्त्री श्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदूत महामहिम पार्क तेयङ याेच बीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीचको द्विपक्षीय कूटनीतिक सम्बन्धको चर्चा गर्दै कोरिया सरकारले नेपाललाई प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। साथै, उहाँले कोरियाको सहयोगमा नेपालमा सञ्चालित आयोजना तथा कार्यक्रमहरूको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै दुई देशबीचको आर्थिक साझेदारिलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो।

​भेटको क्रममा राजदूत पार्क तेयङ योंचले नेपाल सरकार र कोरिया सरकारको एजेन्सी काेईका बीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पूरा भएको अवसरमा खुशी व्यक्त गर्नुभयो। उहाँले उक्त अवधिमा नेपालले कोरिया र कोइकासँग गरेको समन्वय र सहकार्यको सराहना गर्दै कोरियन लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्ने र नेपाली उत्पादनहरूको प्रवर्द्धन मा आवश्यक सहजीकरण गर्ने विषयमा प्रतिबद्धता जनाउनुभयो। विशेष गरी, नेपाली कामदारहरूलाई कोरियाको रोजगारीमा सहजताका साथ लैजान कोरिया सरकारले छुट्‌टै भिसा सेन्टर स्थापना गर्न लागेको महत्त्वपूर्ण जानकारी समेत राजदूतले गराउनुभयो।

​यसका अतिरिक्त, राजदूतले ईपीएस (EPS) प्रणाली मार्फत कोरियामा काम गरी फर्किएका नेपाली नागरिकहरूको उद्यमशीलता विकास लाई टेवा दिन कोरियाको सहयोगमा प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो। नयाँ व्यवसाय सञ्चालन गर्न इच्छुक ती नागरिकहरूलाई कृषि विकास बैंक मार्फत सहुलियत पूर्ण कर्जा उपलब्ध गराउनका लागि कोइकाको सहयोगमा प्रक्रिया अगाडि बढाइएको र यसका लागि नेपाल सरकारबाट आवश्यक सहजीकरण को समेत अपेक्षा गरिएको राजदूतले अनुरोध गर्नुभयो।