काठमाडौं १५ कार्तिक । पहिला देश (पिपुल्स रेभुलेसन) अभियानले तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सिडियोलाई पक्राउ नगरेपछि भोलि १६ गते माइतिघरमा प्रदर्शन गर्ने जनाएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी शुसिला कार्कीले जेन्जीको माग अनुसार काम गर्न नसकेको भन्दै उनको राजिनामासमेत मागेका छन् ।
पहिला देश अभियानका डा.निकोलश भूषालले जेन्जी आन्दोलन मुलतः सुशासन र भ्रष्टाचार मुक्त समाज तथा कार्यकारी प्रमुखको लागि भएको तर वर्तमान सरकार उल्टो दिशामा गएको आरोप लगाए । भूषालले जेन्जीलाई गोलि हान्न आदेश दिने ओली र लेखकलाई पक्रेर अनुसन्धान गर्नु सरकारको पहिलो प्राथमिकता भएपनि त्यसो नगरेकाले भोलि १६ गते प्रदर्शनमा उत्रन बाध्य भएको बताए ।
पहिला देशका संयोजक एसपी शाहले भोलिको प्रदर्शनमा जेन्जी, लघुवित्त, सहकारी, मिटर ब्याज, बैंकलगायतका पीडितले संयुक्तरुपमा प्रदर्शन गर्ने जानकारी दिए । आफूहरुले जेन्जी आन्दोलनपछि देशमा आमुल पविर्तन भएको हेर्न चाहेको तर, ठूलो बलिदानबाट आएको सरकार पुरानै व्यवस्था र भ्रष्टहरुको संरक्षक भएको आरोप लगाउँदै त्यसको विकल्प खोजिनु पर्ने माग गरे ।
पहिला देशका संरक्षक मनिराम ज्ञवालीले जेन्जी आन्दोलनको आँधिहुरीबाट निर्माण भएको वर्तमान सरकार पनि केपी ओलीको भन्दा फरक नभएकोले संविधान परिमार्जन सभामार्फत देशलाई निकास दिनुपर्ने बताए । लघुवित्त पीडित संघर्ष समितिका अध्यक्षसमेत रहेका ज्ञवालीले वित्तीय शोषणको अन्त्य र विशेष वित्तीय ऐन खारेजको माग गर्दै, त्यसको मुख्य बाधक राष्ट्र बैंक भएको आरोप लगाए । ज्ञवालीले केपी ओली र रमेश लेखकको स्वेच्छाचारीताले देशले ठूलो संकट भोगेको आरोप लगाउँदा जेन्जीको मर्म अनुसार वर्तमान सरकारले देशलाई अगाडी बढाउनुपर्ने माग राखेका छन् ।
जेन्जी रविकिरण हमालले आन्दोलन हाइज्याक भएको र त्यसको फाईदा गलत व्यक्तिहरुले लिदा सहिद र घाईतेहरु अपमानित भएको बताउँदै शुसिला कार्की सरकारको विस्थापनको माग गरे ।

प्रतिक्रिया