काठमाडौँ कात्तिक १० गते सोमबार

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व, २०८२ को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना सन्देश जारी गर्नुभएको छ ।

२०८२ साल कार्तिक १० गते सोमबार जारी गरिएको सन्देशमा राष्ट्रपतिले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा प्रकट गर्दै छठी माताको पूजा–आराधना गरी मनाइने यस पर्वले नेपालीबीच राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा “खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठपर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाइने चलन बढ्नु खुसीको विषय हो ।”

राष्ट्रपतिले यस पर्वको आराधनाले सामाजिक, सांस्कृतिक र प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गरेको तथा छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र सम्पूर्ण दुःख तथा कष्ट हटेर जाने जनविश्वास रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले यो पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको अभिवृद्धि गर्न, भौतिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले छठ पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लागि थप सहयोग पुगोस् भनी कामना गर्नुभएको छ ।