​काठमाडौं कार्तिक ९ गते।

​’राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का अभियन्ता दुर्गा प्रसाईंले देशको वर्तमान जटिल परिस्थिति, बिग्रँदो भूराजनीतिक अवस्था र गत भदौ २३ तथा २४ गते सम्पन्न जेन-जी आन्दोलनपश्चात् उत्पन्न तरल राजनीतिक परिस्थितिका सन्दर्भमा सञ्चार जगतका सम्पादकहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुभएको छ। नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा आयोजित उक्त कार्यक्रममा युवराज घिमिरे, भाष्कर राजकर्णिकार, भूषण दाहाल, सम्पादक मातृका पौडेल, रमेश भारती लगायतका वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो। प्रसाईंले सम्पादकहरूसँग कुरा गर्दै ‘नेगेटिभभित्र पोजेटिभ खोज्ने व्यक्तित्व’ को रूपमा सम्मान गर्दै उहाँहरूको विचारले समाज रूपान्तरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

​सम्बोधनका क्रममा प्रसाईंले आफू १३ वर्षअघि माओवादीमा लागेको र पछि दुई तिहाइको सरकारले काम नगरेको भन्दै अब नेपाली जनताले नयाँ बाटो समाउनुपर्नेमा जोड दिनुभयो। उहाँले राजाको हातबाट पानसमा दियो बालेर यो अभियान सुरु गरेको जानकारी गराउँदै २०४६ सालको प्रजातन्त्र, २०५२ सालको जनयुद्ध र पछिल्ला आन्दोलनहरू (६२/६३ साल) ले देशलाई सही बाटोमा नलागेको तर्क गर्नुभयो। उहाँले पुराना पार्टीहरूले बनाएको संविधानअनुसार काम नभएको र उनीहरूको लगानी सिङ्गापुर लगायतका देशमा रहेको आरोप लगाउनुभयो। उहाँको माग ‘२० लाखभन्दा तलको ऋण मिनाहा गर्ने र त्योभन्दा माथिको रकम २५ वर्ष तिर्ने म्याद दिने’ रहेको दोहोर्‍याउनुभयो। देशको वर्तमान परिस्थितिप्रति दुःख व्यक्त गर्दै आफूले यसपालिको तिहारमा टीका नलगाएको बताउनुभयो। देशलाई ‘वैदिक सनातन हिन्दु अधिराज्य कायम गर्न’ सबैले बुझ्नुपर्नेमा जोड दिनुभयो। महेश बस्नेतलाई इंगित गर्दै ‘कसैले १ लाख ४७ हजार वर्गमिटरमा त कसैले गुण्डुतिर आँखा लगाए रक्तपात हुने’ चेतावनी पनि दिनुभयो।

​राजनीतिक नेतृत्वमा प्रश्न उठाउँदै प्रसाईंले ‘६४ को आन्दोलनमा’ विरोध गर्दा ‘२ प्रतिशत’ ले मात्रै साथ दिएको स्मरण गर्नुभयो। उहाँले आफू गरिब र ‘सर्वहारा वर्ग’ को माग बोकेर हिँडेको भन्दै आफूलाई विदेशमा घर किन्नु वा विदेश जानु नरहेको स्पष्ट पार्नुभयो। आफ्नो छोरीले नेपालमै काम गर्न थालेको र नातिले यहीँ पढ्ने जानकारी दिँदै, आफू जन्मेको ठाउँमा पुग्दा सबैभन्दा खुसी र सुरक्षित महसुस हुने बताउनुभयो। त्यहाँ गाडिएको साथी, रूखमा झुन्डिएका तीन चेलीहरू र आत्मदाह गरेका प्रेम आचार्यले आफूलाई केही गर्नका लागि प्रेरणा दिइरहेको उल्लेख गर्नुभयो।

​उहाँले आफूमाथि लागेको ‘ब्याज नतिरेको र बैंकको पैसा खान खोजेको’ भन्ने आरोपको खण्डन गर्दै आफू कर (ट्याक्स) को बारेमा नभई ब्याजको बारेमा कुरा गरिरहेको स्पष्ट पार्नुभयो। लघुवित्त र सहकारीको पीडा खप्न नसकेर महिलाहरू जंगलमा लुकेर बस्नुपरेकोमा दुखेसो पोख्नुभयो। आफूलाई ‘माफिया’ र ‘विवादित व्यापारी’ भनिएकोमा आपत्ति जनाउँदै प्रमाणबिना नलेख्न पत्रकारहरूलाई आग्रह गर्नुभयो। ‘सन्‌दुक रुइत बारवाला फाउन्डेसनको फाउन्डर भएको’ प्रमाण देखाउन सक्ने दाबी गर्दै उहाँले ‘आफू नेपालको सक्सेसफुल व्यापारी रहेको’ बताउनुभयो र ‘सुध्रिनु पर्ने भए तयार रहेको’ तथा ‘देश छोडेर जा भने जान पनि तयार रहेको’ प्रतिबद्धता व्यक्त गर्नुभयो।

​शैक्षिक विवादमा, गोविन्द केसीलाई समर्थन गर्ने गोविन्द दीक्षित, केदार माथेमा, सुशीला कार्की लगायतका व्यक्तित्वहरूलाई खुलेआम चुनौती दिँदै, ‘नेपाल र नेपाली जोगाउने मुद्दामा जेल बस्न तयार रहेको’ बताउनुभयो। उहाँले ‘चिकित्सा शिक्षा आयोग खारेज गर्नुपर्ने’ माग राख्दै शैक्षिक संस्थाहरू बन्द हुने क्रम र जन्मदरमा आएको भारी गिरावटको तथ्यांक प्रस्तुत गर्नुभयो।

​आगामी आन्दोलन ‘नेपालको माटोले मागेको आन्दोलन’ भएको दाबी गर्दै उहाँले आफूलाई ‘वार्ताको लागि चिठी नआएको’ र मिडिया ट्रायल मात्रै भएको बताउनुभयो। ‘दुर्गा प्रसाईंलाई पक्रिने’ भन्ने सनसनी आए पनि आफू ‘नेपालभित्र नेपाली खोज्दै’ गरेको र ‘नभाग्ने’ प्रतिबद्धता व्यक्त गर्नुभयो। आगामी आन्दोलन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हुने र यसक्रममा यातायात, व्यापार व्यवसाय बन्द हुने जानकारी दिँदै, आन्दोलन शान्तिपूर्ण हुने र यसको डेडलाइन पाँच-सात दिन वा १० दिनमा तोक्ने बताउनुभयो। ‘१५-२० दिन ढिला भए पनि आन्दोलन हुने’ बताउँदै, यो आन्दोलन सफल नभए ‘५० लाख मान्छेहरू विस्थापित हुने’ चेतावनी दिनुभयो। आर्थिक अवस्था चित्रण गर्दै, न्यूरोडका पसलहरू बन्द भएको र घरहरू खाली रहेको, तथा १८ लाख व्यापारीमध्ये ६ लाख ब्ल्याकलिस्टमा रहेकोले बैंकको पैसा लगानी हुने ठाउँ नभएको बताउनुभयो र ‘यो अवस्थालाई रिस्ट्रक्चर र रिभ्याम्प गर्न आन्दोलनको जरुरी रहेको’ उहाँको भनाइ थियो।

​अन्त्यमा, उहाँले ‘बाउ-आमा र छोराछोरी भेट्न नपाउने’ अवस्था र ‘सम्पत्ति कमाउन घर खाली गरेर हिँड्नुपर्ने’ अवस्था आएकोमा चिन्ता व्यक्त गर्दै ‘माता सीताको जग्गेमा आज केटाले केटालाई बिहे गर्ने, केटीले केटीलाई बिहे गर्ने जग्गे मण्डप बनाइयो’ भन्दै सांस्कृतिक ह्रासप्रति दुःख व्यक्त गर्नुभयो। उहाँले आफूलाई व्यक्तिगत तरिकाले दुःख दिन नहुने अपील गर्दै उपस्थित सम्पूर्णलाई ढिलै भए पनि दीपावली र छठको शुभकामना दिनुभयो।