प्रधानमन्त्री सुशिला कार्कीद्वारा शंखधरको प्रतिमामा माल्यार्पण, नेपाल संवत् ११४६ को स्वागत
कार्तिक ५ गते, भक्तपुर ।
नेपाल संवत् ११४६ नयाँ वर्षको उपलक्ष्यमा तथा नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा: को योगदानको स्मरण गर्दै आज भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ शंखधर चोकमा विशेष माल्यार्पण समारोह कार्यक्रम सम्पन्न भएको छ।
मध्यपुर ठिमी नगरपालिका र राष्ट्रिय बिभुती शंखधर साख्वा: प्रतिष्ठानको संयुक्त आयोजनामा भएको उक्त समारोहमा प्रधानमन्त्री सुशिला कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री कार्कीले शंखधर साख्वा: को प्रतिमामा माल्यार्पण गर्दै नेपाल संवत्को नयाँ वर्षको शुभारम्भ गरिन्।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत् नेपालीहरूको मौलिक संवत् भएको र यसको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताइन्। उनले शंखधर साख्वा: ले गरिब जनताको ऋण मोचन गरी देश र समाजका लागि गरेको अतुलनीय योगदानको कदर गर्दै नेपाल संवत्लाई राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा क्रमशः प्रचलनमा ल्याउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र उपमेयर विजय कृष्ण श्रेष्ठले शंखधर साख्वा: को योगदान र नेपाल संवत्को महत्वलाई उजागर गर्न आगामी दिनमा थप कार्यक्रमहरू आयोजना गर्ने जानकारी दिए। बागमती प्रदेश सभा सदस्य राजेन्द्रमान श्रेष्ठले शंखधरको योगदान सिंगो राष्ट्रको सम्पत्ति भएको बताउँदै नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा अझ व्यापक बनाउनुपर्ने धारणा राखे।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरू, वडा अध्यक्षहरू, भक्तपुर जिल्ला प्रमुख जिल्ला अधिकारी नमराज घिमिरे, सुरक्षा निकायका प्रमुखहरू, स्थानिय बासिन्दाहरु लगायत उल्लेख्य संख्यामा महानुभावहरूको उपस्थिति रहेको थियो। माल्यार्पण समारोहपछि उपस्थित महानुभावहरूले एक-आपसमा नयाँ वर्ष ११४६ को शुभकामना आदान-प्रदान गरेका थिए।
राष्ट्रिय विभूति शंखधर साख्वा: एक परिचय
(नेपाल संवत्का प्रवर्तक तथा महान् समाज सुधारक)
शंखधर साख्वा: करिब ११ सय ४५ वर्षअघि लिच्छवीकालको उत्तरार्धमा कान्तिपुर (काठमाडौँ) को इलाछें टोलमा एक मध्यमवर्गीय व्यापारीको रूपमा रहेका राष्ट्रिय विभूति हुन्। उनलाई खासगरी नेपाल संवत्को प्रवर्तकको रूपमा चिनिन्छ, तर उनको परिचय उनको महान् सामाजिक कार्यसँग जोडिएको छ।
सामाजिक क्रान्ति र ऋणमोचन:
शंखधर साख्वा: को सबैभन्दा ठूलो योगदान तत्कालीन समाजमा व्याप्त ऋणको दासत्वबाट जनतालाई मुक्त गर्नु हो। एक किंवदन्ती अनुसार, उनले दैवी संयोगबाट प्राप्त सुनको थुप्रोलाई व्यक्तिगत लाभका लागि प्रयोग नगरी त्यसबाट आएको अथाह धनराशीले कान्तिपुर र भादगाउँ (भक्तपुर) का गरिब जनताले साहु-महाजनलाई तिर्नुपर्ने सम्पूर्ण ऋण चुक्ता गरिदिए। यसरी, वि.सं. ९३७ (ई. सं. ८८०) मा जनताको तमसुक जलाएर उनीहरूलाई ऋणमुक्त र स्वतन्त्र घोषणा गरे, जुन सामाजिक न्याय र समानताका लागि गरिएको एक ऐतिहासिक कदम थियो।
नेपाल संवत्को थालनी:
जनतालाई ऋणबाट मुक्ति दिलाई नयाँ युगको थालनी भएको यस गौरवमय दिनको सम्झना स्वरूप उनले नेपालको मौलिक पात्रो नेपाल संवत् को सुरुवात गरे। उनले आफ्नै नाममा संवत् नचलाई राष्ट्रकै नाममा ‘नेपाल संवत्’ चलाए, जसले उनको निस्वार्थ भावनालाई दर्साउँछ। नेपाल संवत् करिब ८८० वर्षसम्म नेपालको सरकारी कामकाजमा आधिकारिक रूपमा प्रचलनमा रहेको थियो।
राष्ट्रिय विभूतिको सम्मान:
नेपाल सरकारले उनको महान् त्याग र राष्ट्रियताको भावनालाई कदर गर्दै ने. सं. ११२० (वि. सं. २०५६ साल मंसिर २ गते) मा उनलाई राष्ट्रिय विभूति घोषणा गर्यो। उनी यो उपाधि पाउने चौधौँ व्यक्तित्व हुन्। हाल, नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा मान्यता दिइएको छ र नयाँ वर्षको पहिलो दिनलाई ‘शंखधर दिवस’ को रूपमा देशव्यापी रूपमा मनाइन्छ। शंखधर साख्वा: को जीवनीले नेपाली समाजमा परोपकार, त्याग र राष्ट्रिय भावनाको महत्त्वलाई आज पनि उत्तिकै प्रेरणा दिइरहेको छ।
अन्त्यमा, कार्यक्रममा सहभागीहरूले राष्ट्रिय विभूति शंखधर साख्वा: को योगदानलाई अझ उच्च कदर गर्दै उहाँको तस्बिर अंकित नोट (पैसा) समेत नेपालमा छापिनु पर्ने धारणा व्यक्त गरेका थिए।
आज नेपालको मौलिक संवत् नेपाल संवत् ११४६ को उपलक्ष्यमा सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना ।
नेपाल सम्बत ११४६ न्हुदंया फुक्क नेपामी पीन्त भींतुना दु ।

प्रतिक्रिया