काठमाडौँ। आश्विन ३१ गते निर्वाचन आयोगले वि.सं. २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्म सम्पादन गरेका मुख्य काम कारबाही र उपलब्धि समावेश भएको उन्नाइसौँ वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यूलाई बुझाएको छ।

​शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा आयोगका माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले उक्त प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको हो।

​प्रतिवेदन बुझ्दै सम्माननीय राष्ट्रपतिज्यूले आर्थिक वर्ष २०८१/८२ मा आयोगले गरेका कामको लागि धन्यवाद व्यक्त गर्नुहुँदै, आगामी २०८२ फागुन २१ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन समेत सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ।

​आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीज्यूले प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०८१/८२ मा आयोगले मतदाता नामावली दर्ता तथा अध्यावधिक, स्थानीय तहका ४४ पदमा उपनिर्वाचन, मतदाता शिक्षा र तालिम सञ्चालन, राजनीतिक दल दर्ता र अध्यावधिक गरेको जानकारी गराउनुभयो। उहाँले आयोगको कानूनी, संस्थागत तथा प्रणालीगत सुधारका लागि चौथो पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी कार्यान्वयन गरिएको पनि उल्लेख गर्नुभयो।

​कार्यवाहक प्रमुख आयुक्त भण्डारीज्यूले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गर्न लगायत आयोगले सम्पन्न गर्ने कार्यमा राजनीतिक दल र सबै सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो।

​कार्यक्रममा माननीय निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरसगुन शमशेर ज.ब.रा., आयोगका सचिव माधवदेव पन्त र सम्माननीय राष्ट्रपतिज्यूका विज्ञ सल्लाहकारहरू एवम् राष्ट्रपति कार्यालयका सचिव डा. दिपक काफ्लेको उपस्थिति रहेको थियो।