काठमाडौं, २०८२ असोज २९ गते

​प्रतिनिधि सभाका सम्माननीय सभामुख देवराज घिमिरेले विघटित संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका पूर्व प्रमुख सचेतकहरुसँग सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको आफ्नो कार्यकक्षमा छलफल गर्नुभएको छ। संसद विघटन र देशको समसामयिक राजनीतिक अवस्थाबारे केन्द्रित छलफलमा सहभागी दलका प्रतिनिधिहरुले संसद पुनर्स्थापनाको आवश्यकता र ‘जेन जी’ (Gen Z) का मागहरु सम्बोधनबारे फरक-फरक धारणा राखेका छन्।

​छलफलमा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, नेपाली काँग्रेसका पूर्व प्रमुख सचेतक श्याम कुमार घिमिरे, नेकपा एमालेका पूर्व मुख्य सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका पूर्व प्रमुख सचेतक हित राज पाण्डे, नेकपा (एकिकृत समाजवादी) पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सचेतक ज्ञान बहादुर शाही, जनता समाजवादी पार्टी नेपालका पूर्व प्रमुख सचेतक रेखा यादव लगायत संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेसहित करिब १५/१६ जनाको उपस्थिति रहेको थियो।

छलफलपछि नेताहरुको धारणा:

​छलफलपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेताहरुले संसद विघटन, जेन जीका माग र आगामी राजनीतिको दिशाबारे आफ्ना दलको मत स्पष्ट पारेका छन्।

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सचेतक ज्ञान बहादुर शाहीले ‘जेन जी’ का मागहरु पुरा नगरी संसद पुनर्स्थापना गर्न नहुने अडान राख्नुभयो।
  • नेकपा (एकिकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान प्रधानमन्त्री संविधानको धारा अनुरूप नियुक्त नभएको बताउँदै, “अहिले संसद जोगाएको भए जेन जीका माग यही संसदले पुरा गर्न सक्थ्यो, अब त ०६ वर्ष पछि अर्को चुनावमा पूरा हुने देखियो,” भन्नुभयो। उहाँले दलहरु साँचो हुनुपर्नेमा जोड दिँदै सभामुखले संसद विघटन विरुद्ध मुद्दामा जान नहुने धारणा राख्नुभयो।
  • नेकपा एमालेका पूर्व मुख्य सचेतक महेश बर्तौलाले भने संसद विघटनलाई ‘असंवैधानिक र असंसदीय’ कदम भन्दै यसलाई पुनर्स्थापना गर्नु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले “संसदलाई पुनर्स्थापना गरेर जेन जीका मागहरु पुरा गर्न सकिन्छ” भन्ने तर्क गर्नुभयो।
  • नेपाली काँग्रेसका पूर्व प्रमुख सचेतक श्याम कुमार घिमिरेले वर्तमान र नयाँ सरकार गठन असंवैधानिक भएको भन्दै आफ्नो दल निर्वाचनबाट पछाडि नहट्ने र निर्वाचनको तयारीमा लाग्ने स्पष्ट पार्नुभयो। उहाँले छलफलमा सबै दलले आफ्नो-आफ्नो धारणा राखेको जानकारी दिनुभयो।

​यसरी सभामुखको पहलमा भएको यस छलफलमा दलका पूर्व सचेतकहरुबीच संसद पुनर्स्थापनाको विषयमा मतभेद देखिएको छ, तर ‘जेन जी’ का मागहरु सम्बोधन गर्ने विषयलाई सबैले प्राथमिकतामा राखेका छन्। सभामुखले संसद विघटनको विषयमा कानुनी परामर्श लिइरहेको बेला प्रमुख दलका पूर्व सचेतकहरूसँगको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।