काठमाडौं:
‘जेन–जी आन्दोलन’का क्रममा देशभरका विभिन्न शाखामा भएको तोडफोड, आगजनी र लुटपाटबाट भाटभटेनी सुपरमार्केट समूहले १५ अर्ब रुपैयाँभन्दा बढीको क्षति बेहोरेको जनाएको छ। समूहका सञ्चालक मीनबहादुर गुरुङका अनुसार भदौ २४ गते देशव्यापी रूपमा भएको घटनाले भाटभटेनीलाई कल्पनाभन्दा बाहिरको आर्थिक झट्का दिएको छ।
गुरुङले भाटभटेनीका कूल २७ शाखामध्ये केवळ ६ वटा स्टोर मात्र आगलागीबाट जोगिएको बताएका छन्, तर तीमध्ये पनि धेरैमा लुटपाट भएको छ। उनको भनाइ छ, “१२ वटा शाखामा ठूलो मात्रामा लुटपाट भएको छ, बाँकी शाखामा पनि तोडफोड र चोरीका घटना भएका छन्।”
‘कल्पना बाहिरको’ क्षति, बीमाले भ्याएन:
दसैँ–तिहारको मुखमा भएको यो घटनाबाट भएको करिब १५ अर्ब रुपैयाँभन्दा बढीको क्षति सोच्नै नसकिने भएको गुरुङले बताए। भाटभटेनीको बीमा रकम करिब १० अर्ब रुपैयाँ मात्र भएकाले ठूलो आर्थिक क्षति बेहोर्नु परेको उनले स्पष्ट पारे। “यो क्षति सोच्नै नसकिने, सपनामा पनि कल्पना नगरेको कुरा हो,” गुरुङले भने।
राज्यसँग छानबिन र कारबाहीको माग:
आन्दोलनको नाममा भएको यो विनाशकारी घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै गुरुङले राज्यलाई तत्काल छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न आग्रह गरेका छन्। उनले भने, “यदि यस्ता घटनामा कुनै कारबाही भएन भने व्यवसायीहरूको मनोबल गिर्छ। आज मसँग यस्तो भयो, भोलि अरूसँग नहोला भन्न सकिँदैन।”
गुरुङले भाटभटेनीले हजारौंलाई रोजगारी दिएको, बैंकमा अर्बौंको ऋण रहेको र बजारमा अर्बौंको कारोबार गरिरहेको अवस्थामा भएको लुटपाटप्रति कसैले जिम्मेवारी नलिए देशमा व्यवसाय गर्ने वातावरण समाप्त हुने चेतावनी दिए। उनले प्रश्न गरे, “यस्तो अवस्थामा पनि लुटपाट हुँदा कसैले जिम्मेवारी नलिने हो भने देशमा को व्यवसाय गर्ने?”

प्रतिक्रिया