काठमाडौं। काठमाडौंको कोटेश्वर तीनकुने चोकलाई ‘जेनजी चोक’ घोषणा गर्न आज (आइतबार) गरिएको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। कार्यक्रममा सहभागीहरूमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको आयोजकले जनाएको छ।

पक्राउ पर्नेमा आयोजक GenZ 2.0 (सबै पुस्ताका प्रतिनिधि) का वक्ता अभिन लिम्बू, अरिष तिवारीसुनिल सिंह रहेका छन्।

कोटेश्वर तीनकुने क्षेत्रको चोकलाई ‘जेनजी चोक’ घोषणा गर्न GenZ 2.0 ले सार्वजनिक कार्यक्रम आयोजना गरेको थियो। यो समूहले चोकको नाम ‘जेनजी चोक’ घोषणा गर्ने कार्यक्रम राखेको थियो। तर, प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै राख्न खोजिएको साइनबोर्ड (Signboard) पनि हटाइदिएको छ।

नारा र साइनबोर्डको विवरण: “रगत बग्यो देशका लागि, अब रक्षा हाम्रो जिम्मेवारी” नाराका साथ चोक घोषणा गर्ने कार्यक्रम तय गरिएको थियो। घोषणासँगै चोकमा राखिएको त्रिकोणात्मक आकारको साइनबोर्डमा:

  • सबैभन्दा माथि नेपालको झण्डा राखिएको थियो।
  • त्यसको मुनि जेनजी चोक (तीनकुने) लेखिएको थियो।
  • त्यसको मुनि जेनजी आन्दोलनको क्रममा भाइरल भएको घाइते आन्दोलनकारीको रगत लागेको जुत्ताको फोटो राखिएको थियो।
  • त्यसको मुनि रगत बग्यो देशका लागि, अब रक्षा हाम्रो जिम्मेवारी लेखिएको थियो।
  • त्यसको मुनि सानो साइजमा GenZ 2.0 (सबै पुस्ताका प्रतिनिधि) र एकजना आयोजकको मोबाइल नम्बर लेखिएको थियो। प्रहरी आएपछि उक्त साइनबोर्ड अहिले त्यहाँ छैन। प्रहरीले वक्ता अभिन लिम्बूलगायतलाई पक्राउ गरी लगेको थियो।

प्रहरी हस्तक्षेपको कारण: आयोजक संस्थाका सल्लाहकार डा. हरिबहादुर कार्की ले कार्यक्रमका लागि प्रशासनबाट अनुमति लिएको बताए। अनुमति पत्र देखाउँदै उनले अनुमति लिएर कार्यक्रम गर्दा पनि प्रहरीले हस्तक्षेप गरेको बताए।

तर, प्रहरीले भने कार्यक्रम दीप प्रज्वलन गर्न मात्र अनुमति लिएको बताउँदै सहभागिता जनाएका नेताहरूलाई पक्राउ गरेको जनाएको छ। काठमाडौंमा अहिले कुनै पनि प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयको आदेशको उल्लङ्घन गरेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ। कार्यक्रमको क्रममा दीप प्रज्वलन भने गरिएको थियो।

चोक घोषणाको उद्देश्य: जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै उनीहरूको मागलाई निरन्तर सम्झाइराख्न स्मरणस्वरूप जेनजी चोक घोषणा गरिएको कार्यक्रममा बताइयो। ‘जेनजीहरूको मागहरूलाई निरन्तर झकझकाइरहन सकियोस् भनेर यो घोषणा गरेका हौं,’ आयोजकहरूले भने। दर्जनाैं शहीद जेनजीहरूको माग पूरा गराउनु नै चोक घोषणाको मुख्य कारण रहेको उनीहरूको भनाइ थियो। शहीदहरूको रगतको मूल्य चुकाउन उनीहरूले राखेका मागहरू पूरा गराउनु हामी सबैको कर्तव्य भएको पनि उनीहरूले बताए।

GenZ 2.0 (सबै पुस्ताका प्रतिनिधि) धेरै जेनजी समूहहरूमध्येको एक हो। यसमा विभिन्न जेनजी युवाहरू समावेश छन्। यो समूहले पनि जेनजीहरूको माग पूरा गराउन आफ्नै हिसाबले कार्यक्रमहरू गरिरहेको छ।

जेनजी चोक घोषणाको क्रममा जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जलीस्वरूप दीप प्रज्वलन पनि गरिएको थियो। जेनजीका शहीद परिवार, घाइते सदस्य, जेनजी नेताहरू र अभियन्ताहरूको बाक्लो उपस्थितिमा कार्यक्रम भएको थियो। कार्यक्रमको क्रममा राष्ट्रिय समिति पनि घोषणा गरिएको थियो।

GenZ 2.0 (सबै पुस्ताका प्रतिनिधि) को आधिकारिक कार्यालय काठमाडौंको महाराजगञ्जमा रहेको छ।