काठमाडौँ, २०८२ असोज २५ गणतन्त्र कोरियाको नेपालस्थित दूतावासले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारका लागि सहयोग संकलन अभियान सुरु गरेको छ। शनिबार काठमाडौँको ठमेलमा आयोजित विशेष कार्यक्रममा दूतावासले आन्दोलनका क्रममा भएको मानवीय क्षतिको प्रति गहिरो दुःख प्रकट गर्दै घाइते र प्रभावितहरूप्रति ऐक्यबद्धता जनायो।
दूतावासले नेपालमा रहेका कोरियाली समुदाय, उद्यमी तथा विभिन्न संस्थाको सहभागितामा घाइतेहरूको उपचार सहयोगार्थ रकम संकलन सुरु गरेको हो। कार्यक्रमका क्रममा कोरियाली खानाका परिकार उपलब्ध गराएर सहयोग जुटाउने अभियान सञ्चालन गरिएको थियो। छोटो अवधिमै अभियानमार्फत उल्लेखनीय रकम संकलन भएको दूतावासले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थे यङले नेपालको हरेक कठिन घडीमा कोरियाली जनताको साथ रहँदै आएको स्मरण गराउँदै, “कोरिया नेपालका लागि सदावहार मित्र हो,” भन्ने धारणा व्यक्त गरे। उनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाप्रति संवेदना प्रकट गर्दै, भौतिक क्षति पुनर्निर्माणका लागि आवश्यक सहयोग गर्न कोरिया सरकार तत्पर रहेको पनि स्पष्ट पारे।
राजदूत पार्कले नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति कोरियाको सम्मान र समर्थन व्यक्त गर्दै नेपाली जनता र सरकारको भूमिकाको प्रशंसा गरे।
कार्यक्रममा दूतावासका अधिकारीहरू, कोइका (KOICA), इपिएस शाखा, नेपालमा लगानी गरेका कोरियाली उद्यमीहरू र कोरियाली समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थिती थियो।

प्रतिक्रिया