काठमाडौँ। काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारमा पनि स्वदेशी फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्दै आयातित र प्लास्टिकजन्य फूलमालाको बिक्री-वितरणमा पूर्ण रूपमा रोक लगाएको छ। विगत तीन वर्षदेखि स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै आयातलाई निरुत्साहित गर्ने नीति अनुसार महानगरपालिकाले यो कदम चालेको हो।
महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेका फूलहरूलाई प्राथमिकता दिनका लागि कार्तिक महिनाभरि ३२ स्थानहरूमा स्वदेशी फूलमाला बिक्री-वितरणका लागि स्थल व्यवस्थापन गरेको छ। यसको मुख्य उद्देश्य नेपाली किसानहरूलाई बजारमा सहज पहुँच प्रदान गर्नु र उपभोक्तालाई स्वदेशी फूल प्रयोग गर्न प्रोत्साहित गर्नु हो।
३२ स्थानमा बिक्री-वितरणको व्यवस्था
काठमाडौँ महानगरपालिकाले नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपाल सँगको सहकार्यमा किसानहरूलाई बजारमा सहज पहुँच, ढुवानीमा सहयोग र उचित मूल्य सुनिश्चित गर्ने बताएको छ। साथै, अवैध रूपमा प्लास्टिक तथा आयातित माला बिक्री गर्नेहरूमाथि कारबाही गर्न र कोल्ड स्टोर तथा बजार क्षेत्रको अनुगमन गर्न पनि तयारी गरिएको छ।
महानगरपालिकाले उपभोक्ताले स्वदेशी फूलमै गर्व महसुस गर्न सकून् भन्ने उद्देश्य राखेको छ। नेपाल अहिले सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको सन्दर्भमा यस तिहारमा स्वदेशी फूलको प्रयोग गर्न महानगरपालिकाले सबैमा आग्रह गरेको छ।
”आफ्नो संस्कृति, नेपालमै फुलेका फूल हाम्रो पहिचान हो, यही हाम्रो सम्मान हो,” महानगरपालिकाको सन्देशमा भनिएको छ।
फूलमाला बिक्री–वितरणका लागि तोकिएका ३२ स्थानहरू निम्नानुसार छन्:
एन.भी. सेन्टर – नयाँ बानेश्वर
बिग मार्ट – शंखमूल
आइ प्लेक्स मल – नयाँ बानेश्वर
सेल्सबेरी – मध्यबानेश्वर
फोनेक्स टावर – बत्तीसपुतली
तिनकुने चौर – तिनकुने
सिफल चौर – सिफल
एसी कम्प्लेक्स – चाबहिल
चाबहिल गणेशस्थान तरकारी बजार – चाबहिल
के.एल. टावर पूर्व – चाबहिल
चाबहिल सेन्टर अगाडि – चाबहिल
धर्म चक्र पार्क – स्वयम्भू
कालिमाटी ब्याङ्क्वेट – कालिमाटी
द्यौखेल – कालिमाटी
भाटभटेनी – कलङ्की
भ्याली कोल्ड स्टोर – नयाँ बजार
बुद्ध महल – माछापोखरी
गुणस्तर खाल्डो – माछापोखरी
वडा ५ अगाडिको डबली – हाँडीगाउँ
गणेश मन्दिर डबली – हाँडीगाउँ
कोइराला स्मार्ट (वडा २६) – सामाखुशी
सेल्सबेरी – महाराजगञ्ज
बिग मार्ट – गङ्गबु
बिग मार्ट – चपलकारखाना
बिग मार्ट – बालुवाटार
आइटी भवन (वडा २८) – कमलादी
स्टार मल (वडा २८) – पुतलीसडक
भाटभटेनी (वडा ९) – अनामनगर
टेवाल मन्दिर – सुन्धारा
काठमाडौँ महल – सुन्धारा
वडा कार्यालय निर्माण स्थल (वडा २८) – अद्धेतमार्ग
बजरा कम्प्लेक्स (न्यू प्लाजा) – गुडमार्ट
यो व्यवस्थाले किसान र उपभोक्ता दुवैलाई लाभ पुग्ने र तिहारलाई थप सांस्कृतिक तथा स्थानीय बनाउन सहयोग पुग्ने विश्वास महानगरपालिकाले व्यक्त गरेको छ।

प्रतिक्रिया