काठमाडौँ। आश्विन २४ गते शुक्रबार । राष्ट्रिय एकता अभियानले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले इजरायलमा हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको तत्काल र सुरक्षित रिहाइको माग गरेका छन्। उनीहरूले यस संवेदनशील मामिलामा नेपाल सरकारको कुटनीतिक पहल कमजोर र असफल रहेको भन्दै गम्भीर प्रश्न उठाएका छन्।
​’विपिन जोशीको रिहाई र हमासको आत्मसमर्पण’ विषयमा केन्द्रित सो कार्यक्रममा राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठि, वरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेल लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

​असफल कुटनीतिको नमुना: वरिष्ठ अधिवक्ता त्रिपाठि

​वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठिले विपिन जोशीको अवस्थाबारे सरकारले स्पष्ट जानकारी दिन नसक्नुलाई ‘असफल कुटनीतिको नमुना’ भनी टिप्पणी गरे। “मानवता विरुद्धको अपराध” ठहर गर्दै उनले अन्तर्राष्ट्रिय कानून प्रयोग गरी विपिनको सुरक्षाका लागि अन्य देशसँग पनि कुरा राख्नुपर्नेमा जोड दिए। उनले सिग्नेचर क्याम्पेन चलाएर अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न सकिने सुझाव समेत दिए।

​बन्धकको सूचीमा नाम नपर्दा चिन्ता

​अतिथि वक्ता दया राम पण्डितले हमासले हालै रिहा गरेका बन्धकहरूको सूचीमा विपिन जोशीको नाम नपरेकोमा गहिरो चिन्ता व्यक्त गर्दै छिटोभन्दा छिटो रिहाइ सुनिश्चित गर्न सरकारलाई माग गरे। उनले “नेपाललाई गैर-राज्यलाई नमानेको हो कि?” भन्दै कूटनीतिक सक्रियतामाथि शङ्का व्यक्त गरे।

​१० नेपालीको निधन र आतंकको विरोधमा स्पष्ट कित्ता

​वरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेलले हमासको आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यो घटना दुर्भाग्यपूर्ण रहेको बताए। उनले नेपालले आतंकवादको अनुहारमा आफ्नो कित्ता स्पष्ट राख्नुपर्ने र बन्दी बनाउनुलाई जायज ठान्न नहुनेमा जोड दिए। उनले जोशीलाई सकुशल देशमा स्वागत गर्न पाउने आशा व्यक्त गरे।

​राष्ट्रिय एकता अभियानले पहल गर्ने

​कार्यक्रम का अध्यक्षता गरेका राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले विपिन जोशीको रिहाइका लागि राष्ट्रिय एकता अभियानले मात्र होइन, सबै सरोकारवाला निकायले कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए। उनले कार्यक्रममा उपस्थित सबैले आफ्नो विचार र अन्तर्राष्ट्रिय सम्बन्धको पक्षमा जोड दिएकोमा आभार व्यक्त गरे।
​कार्यक्रमका सहभागीहरूले सरकारले तत्काल सक्रिय र प्रभावकारी पहल नथालेमा थप आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने र सडकमा बृहतरुपमा पनि आउने चेतावनी दिएका छन्।यादव ले कार्यपत्र पढ़ेर समेत प्रस्तुत गर्नु भएका थिए। सो कार्यपत्रमा
बिपिन जोशीको मुक्ति र हमासको आत्मसमर्पण: आतंकवाद विरुद्ध न्यायोचित सुरक्षा र स्थायी शान्ति

माननीय अतिथि, तथा यहाँ उपस्थित सबै महानुभावहरू,

आज हामी यहाँ बिपिन जोशीको आतंकवादी हमासबाट हुने अपहरणबाट मुक्ति र हमासको आत्मसमर्पण सम्बन्धमा छलफल गर्न जम्मा भएका छौँ। यो विषय मात्र नेपालको लागि नभएर समग्र विश्व शान्ति र मानव अधिकारको पक्षमा महत्त्वपूर्ण सन्देश हो।

हमासको आतंकवादः अमानवीय हिंसाको कहालीलाग्दो यथार्थ

सन् २०२३ को ७ अक्टोबर, हमासले इजरायलमा योजनाबद्ध तरिकाले गरेको क्रूर आतंकवादी आक्रमणमा हजारौं निर्दोष नागरिक मारिए। यस आक्रमणमा बिपिन जोशी जस्ता नेपाली विद्यार्थी समेत अपहरणमा परे जसले हाम्रो राष्ट्रलाई गहिरो पीडामा डुबायो। हमासले बारम्बार निर्दोष जनतालाई निशाना बनाउने, अपहरण, हत्याकाण्ड, यौन हिंसा जस्ता अमानवीय कृत्य गर्दै आएको आतंकवादी समूह हो। यसले न केवल इजरायलको अस्तित्वमाथि खतरा सिर्जना गर्यो, वल्कि विश्व शान्ति र सुरक्षा माथि गम्भीर आक्रमण हो।

बिपिन जोशीको पीडा र अन्तर्राष्ट्रिय उत्तरदायित्व

बिपिन जोशी, जो एक परिश्रमी नेपाली छात्र थिए, अध्ययनका क्रममा आतंकवादी समूहको निशानामा परे । उनको सुरक्षित र सम्मानजनक जीवनका लागि इजरायली प्रशासनले निरन्तर प्रयास गरिरहेको छ। यस घटनाले हामी सबैलाई आतंकवाद विरुद्ध एकसाथ उभिन, निर्दोष नागरिकको सुरक्षा र मानवीय अधिकारको संरक्षणका लागि आवाज उठाउन जरुरी ठहर बनाउँछ।

हमास आत्मसमर्पण किन अपरिहार्य छ?

  • हमास आतंकवादी हिंसाले मात्र नभएर सहअस्तित्वका धारालाई पनि खतरा पु-याउँछ।
  • शान्ति स्थापनाका लागि हिंसा त्यागेर कूटनीति र संवादमार्फत समस्या समाधान गर्नुपर्छ।
  • आत्मसमर्पणले आन्तरिक र क्षेत्रीय स्थिरता, विकास, र मानवीय पुनर्निर्माण सम्भव बनाउँछ।
  • समानता र मानव अधिकारको रक्षा हुँदै दिगो शान्ति स्थापित गर्न आतङ्कवादी क्रिया विरह गर्न जरुरी छ।

इजरायलको न्यायोचित आत्मरक्षा

इजरायलले आफ्नो स्वतन्त्रता र नागरिक सुरक्षाको लागि अग्रहले उठाएका कदम समर्थनीय छन्। आतंकवादविरुद्धको यो कडा कदमले केवल रक्षा नभई आतंकवादी गतिविधि न्यूनीकरण गर्ने भूमिका खेल्छ। बिपिनजस्ता पीडितलाई सुरक्षित फिर्ता ल्याउन इजरायलले निरन्तर प्रयास गरिरहेको छ, जसमा विश्वले साथ दिनुपर्छ।

नेपाल र विश्वलाई शिक्षा

यस घटनाले नेपाल लगायत विश्वलाई आतंकवादविरुद्ध सजग र एकजुट हुन सन्देश दिएको छ। हामीले आतंकवादका विरुद्ध कडाइ, मानवीय सम्मान र संवादमूलक शान्ति पक्षधरता लिएर अघि बढ्नुपर्छ।

निष्कर्ष

बिपिन जोशीको सुरक्षित मुक्ति र हमासको आत्मसमर्पणले आतंकवादविरुद्धको निर्णायक विजयलाई जनाउँछ। यसले मानव अधिकार तथा जीवन सुरक्षाको पक्षमा हामी सबैलाई ऐक्यबद्ध हुन उत्प्रेरित गर्नेछ। हामी सबैले आतंकवाद विरुद्ध इजरायलको न्यायोचित सुरक्षाप्रयासलाई समर्थन गर्दा मात्र स्थायी शान्ति सम्भव छ।

धन्यवाद।