काठमाडौं, असोज २२ । नेशनल जस्टिस टेक्नोलोजी युनिट (NTEK-Z team) ले वर्तमान सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै भोलि असोज २३ गते माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना (आन्दोलन) गर्ने घोषणा गरेको छ। आज भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै टोलीका सदस्यहरूले प्रधानमन्त्री शुसिला कार्कीको पछिल्लो भाषणबाट आफूहरू निराश भएको र तत्काल दोषीमाथि कारबाही नभए कडा कदम चाल्ने चेतावनी दिएका हुन्।
जेन-जीको भावनामाथि नखेल्न चेतावनी
पत्रकार सम्मेलनमा NTEK-Z team का संयोजक तथा सफ्टवेयर इन्जिनियर सुरेन्द्र घर्तीले आफ्नो संगठनको परिचय दिँदै अब जेन-जीका मागहरू सम्बोधन गरिनै पर्नेमा जोड दिए। उनले सरकार अवसरवादी भएर काम गर्न नहुने भन्दै “यदि हाम्रो मागहरू पुरा नभए सम्पूर्ण भ्रष्टाचारको फाइलहरू Hack गरेर निकालिदिन्छौं” भनी गम्भीर चेतावनी दिए।
टोलीका प्रवक्ता इन्द्र रोकायाले दोषीलाई तुरुन्त कारवाही गर्नुपर्ने मुख्य मागसहित भोलिको आन्दोलनको कार्यक्रम राखिएको स्पष्ट पारे।
’४८ घण्टामा सरकार परिवर्तन, तर मुद्दा ओझेलमा’
सदस्य एन.बी. लामाले सरकार ४८ घण्टामा परिवर्तन भए पनि जनताका **’मुद्दाहरू ओझेलमा परेको’**मा चिन्ता व्यक्त गरे। ‘म खाडीमा काम गरेको मानिस हूँ, हामी frustation मा छौं,’ उनले भने, ‘हामीले वाध्यताले आन्दोलनमा उत्रनु परेको हो, हामीलाई क्रान्ति गर्न वाध्य बनाइयो।’ उनले भोलिको सामान्य धर्नामा सबैलाई सहभागी हुन आग्रह गरे।
मधेश NTEK-Z team का रञ्जित कुमार ठाकुरले सरकारलाई ‘नश्लवादी सरकार’ को संज्ञा दिँदै भदौ २३ को आन्दोलनमा आफू र आफ्ना साथीले प्रहरीको गोलीको सामना गर्नुपरेको अनुभव सुनाए। ‘के म यो देशको नागरिक होइन?’ भनी प्रश्न गर्दै उनले फेरि पनि सडक संघर्ष गर्न नछोड्ने अडान राखे।
’सडक जेन-जी को हो, ट्रेलर मात्र बाँकी छ’
अग्रज तथा अभिभावकको रूपमा मन्तव्य राखेका एस.पी. शाहले यो आन्दोलनलाई ‘रगत खाने नरपिचासको विरुद्धमा’ रहेको बताए। उनले ‘क्रान्ति निरन्तर हुन्छ’ भन्दै “सडक जेन-जी को हो। जेन-जी को पिडामा खेले परिणाम नराम्रो हुन्छ” भनी चेतावनी दिए।
उनले भदौ २३-२४ को घटना ‘ट्रेलर मात्र’ भएको उल्लेख गर्दै अब गुण्डाहरूलाई ठिक पार्ने चेतावनी दिए। ‘केही भ्रष्ट्र नेताहरुको कारण आज देशको अवस्था यस्तो छ’ भन्दै शाहले वर्तमान सरकार जेन-जी को भावना विपरित गए जनताले नछोड्ने चेतावनी दिए। उनले भ्रष्ट ‘गद्दारहरुलाई देशवाट लखेट्नु पर्ने’ धारणा व्यक्त गरे।
NTEK-Z team ले आफूहरूको माग तत्काल सम्बोधन नभए देशभर सशक्त आन्दोलनका कार्यक्रम ल्याउन सक्ने सङ्केत दिएको छ।


प्रतिक्रिया