काठमाडौं, २०८२ असोज २२ गते बुधबार

​नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजी अभियन्ता सुधन गुरुङ लगायतका व्यक्तिहरूविरुद्ध ‘तोडफोड, आगजनी र प्रहरी हत्या’ को विषयमा किटानी जाहेरी दिएपछि बुधबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ।

​अनामनगरस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा अनेरास्ववियुका महासचिव दीपक धामी ले वर्तमान राजनीतिक अस्थिरता र देशमा भइरहेका अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विधिको शासन कायम गर्न दबाब दिएका छन्।

युवा आन्दोलन हाईज्याक भएको आरोप

​महासचिव धामीले हालै भएको जेनजी आन्दोलनको नाममा सरकारी संरचनाको विध्वंस, आगजनी र हिंसात्मक क्रियाकलाप भएको भन्दै त्यसको नेतृत्वकर्ताहरूलाई कारबाहीको माग गरेका छन्।

​”हिजो जुन जुन कुकर्म गर्नुभयो, जुन किसिमका क्रियाकलाप गर्नुभयो, आज आफै सिकार हुन लाग्नुभएको छ,” धामीले भने, “कसैको घरमा आगो लाउन सजिलो छ। कसैको सुन्दर सम्पदाहरूमा आगो लाउन सजिलो छ। तर, आफ्नो सम्पदा माथि आगो झोस्न सक्नेले यो देश परिवर्तन गर्छ भनेर हामीले पत्याउन सक्दैनौँ।”

​उनले देशमा कुशासन र भ्रष्टाचार भयो भन्ने युवाहरूको भावनालाई हाईज्याक गरी रातारात सत्ता परिवर्तनको खेल खेल्ने प्रयास भएको समेत आरोप लगाएका छन्।

सरकार र सामाजिक सञ्जालको अराजकतामाथि प्रश्न

​धामीले विधिको शासनलाई कमजोर बनाउने प्रयास भएकोमा जोड दिए। उनले कुनै दलको मान्छे भ्रष्टाचारमा लागेको छ भने उसलाई जोगाउन युवा सडकमा नआउने स्पष्ट पार्दै दोषीलाई कारबाही हुनुपर्ने अडान राखे।

​उनले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै भने, “आज कुन मान्छेले हाम्रो राज्यको प्रणालीलाई चाहिँ नेतृत्व गर्दैछ? कस्तो नियतको मान्छेले राज्य सत्तामा बसिरहेको छ?” उनले सरकारमा रहेकाहरूले जनताको मन जित्ने काम गर्न र निर्वाचनको प्रक्रियामा जान आग्रह गरे।

​महासचिव धामीले सामाजिक सञ्जालबाटै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको निर्णय गर्ने प्रवृत्तिको आलोचना गर्दै यस्तो अराजकताले समाजलाई त्रसित बनाएको बताए।

केपी ओलीको प्रशंसा र सुरक्षाको प्रश्न

​सुरक्षा व्यवस्थाको सवालमा धामीले पूर्वगृहमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालको प्रशंसा गरे। “सम्माननीय केपी शर्मा ओली गृह मन्त्री भएको बेला कुनै पनि राज्यको नागरिकले यो छातीमा गोली खान परेन,” उनले भने, “तर त्यो पछाडिका जुनसुकै गृह मन्त्री भएपछि पनि सबैले कहिँ न कहिँ ज्यान गुमाउनु परेको छ।”

अनेरास्ववियुको अल्टिमेटम

​अनेरास्ववियुले अराजकता र त्रसित वातावरणबाट देशलाई मुक्त गर्न आफूहरू सडकमा आएको बताएको छ। महासचिव धामीले भने, “सत्ता प्यारो थिएन, यो सडक हिजो पनि प्यारो थियो, आज पनि प्यारो छ।

​उनले जाहेरीका दोषीहरूलाई कारबाही हुनुपर्ने माग दोहोर्‍याउँदै नेकपा एमालेका साढे छ लाख संगठित सदस्य समेत गिरफ्तारी दिन तयार रहेको घोषणा गरे। धामीले सबै जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूमा जाहेरी दर्ता गर्ने अभियानमा लाग्न आफ्ना कार्यकर्ता र देशलाई माया गर्ने सबै नेपालीलाई अपिल गरेका छन्।

​”यो देशलाई समृद्ध बनाउन र यो व्यवस्था यो प्रणालीको चिन्ता गरिरहनुभएका साथीहरूलाई आग्रह गर्छु,” उनले भने, “हामी समाजमा नकारात्मक चित्रण गरिरहने साथीहरूलाई होइन, सकारात्मक परिवर्तनका लागि लाग्नेछौँ।”