काठमाडौं आश्विन १० गते उपत्यकामा हुने विभिन्न कार्यक्रमहरूको विवरण संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ।

उपत्यकामा आजका मुख्य कार्यक्रमहरू

सम्बोधन र घोषणापत्र सार्वजनिक: डा. निकोलस भुसालले बत्तिसपुतलीको होटल तपसमा दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक: पार्टी कार्यालय, पेरिसडाँडामा बिहान ९ बजे बस्नेछ।

धर्ना कार्यक्रम: सरिश्मा थापाले अन्तरिम सरकारको बैठक प्रत्यक्ष लाइभ गर्नुपर्ने माग राख्दै माइतीघर मण्डलामा बिहान १० बजे धर्ना दिने कार्यक्रम छ।

पत्रकार सम्मेलन: राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पुलचोकमा बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ। यसमा प्राधिकरणले बचत तथा ऋण सहकारीको अभिलेखीकरण मापदण्ड, NCRA र ICAN बीचको समझदारीपत्र (MoU), र अन्य भावी योजनाबारे जानकारी गराउनेछ।

युवा भेला: “जेन्जी क्रान्ति रक्षार्थ” भन्ने नाराका साथ भ्रष्टाचारमुक्त मुलुक निर्माणमा जोड दिँदै कछुवा पार्टी प्यालेस, तार्केश्वरमा दिउँसो १ बजे युवा भेला हुनेछ।

दशैँ मिलन कार्यक्रम: राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले बानेश्वरको इन्द्रेणी फुडल्यान्डमा दिउँसो ३ बजे शुभकामना तथा दशैँ मिलन कार्यक्रम गर्नेछ।

धर्ना: जेनेरेसन-जेड (Gen-Z) ले केपी शर्मा ओली, रमेश लेखक र प्रमुख जिल्ला अधिकारी (CDO) माथि कारबाहीको माग गर्दै माइतीघर मण्डलामा दिउँसो ३ बजे धर्ना दिने कार्यक्रम निरन्तरता दिँदैछन्।