२५ असार, काठमाडौं। नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (NIICE) ले बुधबार काठमाडौंमा “दक्षिण एशियामा आतंकवादः क्षेत्रीय शान्ति र सुरक्षाप्रतिको चुनौती” विषयक उच्चस्तरीय सेमिनारको आयोजना गर्‍यो।

सेमिनारमा राष्ट्रपति कार्यालयका सल्लाहकार तथा पूर्व उद्योगमन्त्रीले सुनील बहादुर थापाले लश्कर-ए-तैयबा (LeT) र जैश-ए-मोहम्मद (JeM) जस्ता समूहहरू जुन संयुक्त राष्ट्रसंघद्वारा घोषित आतङ्ककारी संगठनहरू हुन्, ती समूहहरूको अल-कायदा सँग ऐतिहासिक सम्बन्ध रहेको र पाकिस्तानमा सञ्चालन भइरहेका कारण भारतमाथि मात्र नभई नेपाललाई पनि ट्रान्जिटको रूपमा प्रयोग गर्न सक्ने खतरा रहेको बताएका थिए।

पूर्व रक्षामन्त्री डा. मिनेन्द्र रिजालले भारतमा भएको आतङ्कवादी आक्रमणले नेपालमा समेत असर पार्ने (spillover effect) सम्भावना रहेको बताए। उनले पाकिस्तानले आतङ्कवादलाई समर्थन गर्नुले सार्कलाई निष्क्रिय बनाएको, क्षेत्रीय आर्थिक एकीकरणमा बाधा पुल्याएको र पाकिस्तानलाई ठूलो आर्थिक नोक्सानी पुऱ्याएको जनाए। उनले सेप्टेम्बर ११ को घटना पश्चात देखिएको वैश्विक एकता जस्तै एकता आज आवश्यक रहेको औंल्याए।

संघीय सांसद तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी पूर्वमन्त्री चन्दा चौधरीले अन्तरदेशीय आतंकवाद नियन्त्रण गर्न हवाला तथा अवैध वित्तीय कारोबार (money laundering) नियन्त्रण गर्नु अत्यन्त आवश्यक रहेको बताइन्।

पूर्व मन्त्री शिशिर खनालले भारतको तत्काल र कडा प्रतिक्रिया, विशेषतः ‘अपरेसन सिन्दूर’ अन्तर्गत सैन्य कारबाही तथा पाकिस्तान विरुद्ध कूटनीतिक निष्कासनहरू को क्षेत्रीय आतङ्कवाद नियन्त्रणमा नयाँ मापदण्ड स्थापना भएको भन्दै प्रशंसा गरे।

पूर्व कूटनीतिज्ञ तथा पूर्व प्रधानमन्त्रीका सल्लाहकार
डा. दिनेश भट्टराईले पाहलगाम आक्रमण पछिल्ला वर्षहरूमा सबैभन्दा घातक हमला भएको उल्लेख गर्दै, आक्रमणमा पीडितहरूलाई धर्म सोधेर टाउकोमा गोली हानी निर्ममतापूर्वक हत्या गरिएको बताए।

पूर्व परराष्ट्र मन्त्री तथा सिंचाइ मन्त्री एनपी साउदले नेपाल र क्षेत्रीय शक्तिहरूले आतंकवाद नियन्त्रणका लागि स्पष्ट संयन्त्र विकास गर्नुपर्ने धारणा राखे। उनले आतंकवाद सबैमा असर पार्ने भएकाले यस विरुद्ध सबैले मिलेर कदम चाल्नुपर्ने बताए।

नेपाली सेनाका पूर्व मेजर जनरल डा. पूर्ण सिलवालले
ले आतंकवाद विरुद्धको लडाइँमा राष्ट्रहरूले दोहोरो मापदण्ड अपनाउनु हुँदैन भनेका थिए, यदि वास्तवमै आतंकवाद अन्त्य गर्न हो भने।

राजदूत मधु रमन आचार्यले नेपालका पूर्व परराष्ट्र सचिवले भारत र नेपालको बीचमा गुप्तचर जानकारी आदानप्रदान र सीमा क्षेत्रमा संयुक्त गस्तीको आवश्यकता रहेकोमा जोड दिए। उनले आतंकवाद विरुद्धको लडाइँमा नेपाल भारतको पक्षमा रहेको स्पष्ट पारे।

NIICE की निर्देशक सुमित्रा कार्कीले हर्कत-उल-मुजाहिदीनद्वारा काठमाडौंबाट अपहरण गरिएको इण्डियन एयरलाइन्स फ्लाइट IC-814 र पाकिस्तानस्थित लश्कर-ए-तैयबाद्वारा अप्रिलमा पाहलगाममा गराइएको आतंकवादी आक्रमण (जसमा २६ जना नागरिक मारिए, जसमा एक जना नेपाली पनि थिए) को उदाहरण दिँदै नेपाल आतङ्कवादप्रति संवेदनशील रहेको बताइन्।

NIICE का अनुसन्धान निर्देशक डा. प्रमोद जैसवालले पाकिस्तान दक्षिण एशियाको आतंकवादको केन्द्रबिन्दु (epicenter) भएको र उसले आतंकवादीहरूलाई संरक्षण र तालिम दिने इतिहास रहेको बताए। उनले पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मुहम्मद आसिफ द्वारा हालै दिएको अभिव्यक्ति उल्लेख गर्दै, पाकिस्तानले झण्डै तीन दशकसम्म अमेरिका, बेलायत तथा पश्चिमी देशहरूका लागि आतंकवादीहरूलाई समर्थन, वित्तीय सहायता र तालिम दिएको सार्वजनिक रूपमा स्वीकार गरेको बताए।

उक्त सेमिनारमा वरिष्ठ राजनीतिक नेता, पूर्व मन्त्रीहरू, सुरक्षा विज्ञ, प्राध्यापक र अनुसन्धानकर्ता सहभागी थिए। कार्यक्रममा कूटनीतिक समुदाय, नागरिक समाज, नीति निर्माता, सुरक्षाकर्मी, पत्रकार र शैक्षिक वृत्तका १५० भन्दा बढी सहभागी रहेका थिए।