राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको महामन्त्रीसहित सबै जिम्मेवारी र पार्टी सदस्यसमेत परित्याग गर्दै राप्रपाबाट पूर्णरूपमा अलग भएको घोषणा गरेका छन्।
पाठकले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मितिदेखि राप्रपासँगको राजनीतिक सम्बन्ध पूर्णरूपमा अन्त्य गरेको जानकारी दिएका हुन्।
करिब चार वर्षअघि राप्रपालाई समयानुकूल पुनर्संरचना गर्दै सुशासनप्रति इमानदार, सबै उमेर, वर्ग, समुदाय र भूगोलका नागरिकले भरोसा गर्न सक्ने दलका रूपमा रूपान्तरण गर्ने सहमतिसहित आफू एउटा समूहसँगै राप्रपामा आबद्ध भएको उनले बताएका छन्। सोही सहमति राप्रपासँग आफ्नो एकताको आधार रहेको उनको भनाइ छ।
तर, त्यस अवधिमा आफूले अपेक्षा गरेको दिशामा ठोस र परिणाममुखी काम हुन नसकेको पाठकले बताएका छन्। पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास कायमै रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्ध कडा नारा दिने पार्टीभित्रै व्यवहारिक प्रतिबद्धता र पारदर्शिताको ठूलो अभाव रहेको आरोप लगाएका छन्।
‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने नारालाई पार्टीले मूलमन्त्रका रूपमा लिएको बताए पनि त्यसअनुरूपको व्यवहारिक प्रतिबद्धता र पारदर्शिता पार्टीभित्र नरहेको उनको टिप्पणी छ।
पाठकले राप्रपाको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिको आन्तरिक बेमेल र गुटगत स्वार्थका कारण हुने तिक्ततापूर्ण संघर्ष झनै बढ्दै गएको बताएका छन्। यसका कारण नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवालाई पार्टीले आकर्षित गर्न नसकेको उनको निष्कर्ष छ।
आफू र आफूसँगै राप्रपामा जोडिएका अन्य साथीहरूले समेत पार्टीको विद्यमान अवस्थालाई परिवर्तन गर्न सक्ने सम्भावना नदेखेको उनले उल्लेख गरेका छन्। यद्यपि, यसमा आफ्नै कमजोरीसमेत हुन सक्ने पाठकले स्वीकार गरेका छन्।
पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे पनि राप्रपाको विभिन्न तह, विशेषगरी तल्लो तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धताको भने उनले प्रशंसा गरेका छन्। त्यस्ता नेता तथा कार्यकर्ताको निष्ठा अतुलनीय र प्रेरणादायी रहेको भन्दै उनले उनीहरूप्रति सम्मान व्यक्त गरेका छन्।
आफ्नो राजनीतिक यात्रामा सहयोग, शुभेच्छा, सद्भाव र आलोचनात्मक सुझाव दिने सबै नेता, सदस्य तथा शुभचिन्तकप्रति पाठकले आभार व्यक्त गरेका छन्।
एक दशक लामो सक्रिय राजनीतिक यात्रा तथा त्यसअघि सक्रिय सञ्चारकर्मबाट आर्जित अनुभव र विश्वासको पुँजीलाई आगामी दिनमा राष्ट्र, राष्ट्रियता, सुशासन र नागरिक हितमा थप परिष्कृत ढंगले उच्च प्रतिबद्धतासहित समर्पित गर्ने उनले बताएका छन्।

प्रतिक्रिया