काठमाडौं, १९ वैशाख। भारत सरकारले ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा शाहको मृत्यु प्रकरणमा अत्यन्त संवेदनशील रहेको बताएको छ ।
मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तिमार्फत किटमा मृत्यु भएकी शाहको परिवारप्रति समवेदना व्यक्त प्रकट गर्दै ओडिसा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको र हाल प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको हो ।
भारत सरकार सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, सुरक्षासम्बन्धी चिन्ता र सर्वोपरि हितको सन्दर्भमा अत्यन्त संवेदनशील रहेको समेत जनाएको छ । ‘भारत सरकार सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई गम्भीरतापूर्वक लिन्छ। हामी यस विषयमा वास्तविक समयमा सञ्चार र समन्वय सुनिश्चित गर्न नेपाली अधिकारीहरू, ओडिशा राज्य सरकार साथै कीआईटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा छौं।’ विज्ञप्तिमा उल्लेख छ ।
साहको शव विश्वविद्यालयकै छात्रावासको कोठामा फेला परेको हो। प्रिसा एक वर्ष अगाडि मात्रै अध्ययनका लागि सो विश्वविद्यालयमा गएकी थिइन् ।
भूवनेश्वरको प्रहरीका अनुसार वीरगन्ज–१५ की साह बिहीबार राति विश्वविद्यालयकै होस्टेलमा मृत अवस्थामा फेला परेकी थिइन् । सूचना पाएलगत्तै फोरेन्सिक र प्रहरी टोली घटनास्थलमा पुगेको थियो र घटनामा हाल अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको छ ।
प्रिसा एक वर्ष अगाडि मात्रै अध्ययनका लागि किटमा गएकी थिइन् । उनी प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ ।
प्रिसाले के कति कारणले आत्महत्या गरेको भन्ने विषयमा खुलिसकेको छैन । उनको शव पोष्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको छ । परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी छ । प्रिशाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेका छन् ।

प्रतिक्रिया