बुटवल। कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी सैंजू स्मृति प्रतिष्ठान (ट्रष्ट) बुटवल, विश्व हिन्दु महासंध रूपन्देही, नवजागृति पुस्तकालय, श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजू वृद्धाश्रम, नवजागृति बहुउदेश्यीय सामाजिक भवन ट्रष्टले एक कार्यक्रमको आयोजना गरि विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ।

हरेक वर्ष जस्तै यस वर्ष पनि विहीबार कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान सैजूको ९३औं र समाजसेवी कृष्णप्यारी सैजूको ९२औं जन्मजयन्तीको स्मृतिमा योगदानको स्मरण गर्दै भजनकृतन, कविता वाचनसहित समाजसेवा लगायत विभिन्न क्षेत्र मार्फत राष्ट्रलाई योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

संस्थाका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले प्रतिष्ठानले सामाजिक क्षेत्र तथा मानवीय हितमा महत्वपूर्ण काम गरेकोमा प्रशंसा गरेका थिए।

कार्यक्रममा कान्ति माध्यमिक विद्यालयका अध्यक्ष जीवनप्रसाद वभा, बुटवल उपमहानगरपालिकाका पूर्व नगर प्रमुख पुनाराम पोखरेल, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, युवा समाजसेवी प्रदीप कुमार उदयलगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रतिष्ठानका संरक्षक अनुपमान सैंजूको सञ्चालनमा विभिन्न ७ जना विशेष व्यक्तित्वहरुलाई विशेष सम्मानसहित अभिनन्दन एवम् दोसल्ला ओढाई सम्मान पत्र र मेडल प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा साहित्यकार शकुन्तला ज्ञवाली पौडेल, पत्रकारहरु दामोदर खनाल, प्रतिमा गौतम, समाजसेवी नारायण अग्रवाल, बसन्तध्वज जोशी, शिक्षाविद् लवकुमार जोशी, साहित्यकार निर्मल श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो।

यस वर्ष प्रतिष्ठानले कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान सैजू र समाजसेवी कृष्णप्यारी सैजूको जीवनीमा आधारित वृतचित्र (डकुमेन्ट्रि) निर्माण गरिने योजना रहेको जानकारी गराईएको थियो । यस ट्रष्टले कला, साहित्य, शिक्षा, स्वास्थ्य, पत्रकारिता, समाजसेवा, खेलकुद लगायत विभिन्न क्षेत्रमा राष्ट्र‌लाई योगदान पुर्‍याउने संघ-संस्था र व्यक्तिलाई हरेक वर्ष सम्मान गर्दै आएको छ।

साहित्य क्षेत्रबाट मोदनाथ प्रश्रित र काजी रोशन, समाजसेवीको तर्फबाट शेर बहादुर गुरुङ, पत्रकारिता क्षेत्रबाट वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, गायन कला क्षेत्रबाट देविका बन्दना र खेलकुद क्षेत्रबाट राहुल विक, प्राकृति संरक्षणमा सर्प उद्धारकर्ता यमलाल भण्डारी, सामाजिक धार्मिक जागरण अभियानमा महत्वपूर्ण योगदान पुर्याउदै बाल्यकाल देखि नै धार्मिक जागरणमा समर्पित हुदै आएका रामायण वाचिका सुश्री ज्ञानु अर्याल, यस प्रतिष्ठानबाट प्रकाशित स्मृतिमा कृष्णप्यारी सैंजू आमा’ स्मृति ग्रन्थका सम्पादक कृष्ण प्रसाद कोइराला, प्रत्रकार महेन्द्र थापा, सामाजिक धार्मिक जागरण अभियन्ता श्रीमति शान्ति खेगुली, धार्मिक साहित्य तर्फ धुर्वराज शर्मा काफ्ले, सागितिक क्षेत्रका सुरेश सेन्चुरीलगायतलाई सम्मान गरिएको प्रतिष्ठानका प्रमुख संरक्षक अनुपम सैंजुले जानकारी दिनुभयो ।