नुवाकोट । हिमताल विस्फोटबाट आएको बाढी (जीएलओएफ) का कारण घर तथा घरभित्रका सम्पूर्ण सामग्री गुमाएका नुवाकोटका परिवारलाई टाटा समूह र सिप्रदियन सहायता संस्थाले दुई हजार थान स्टिलका दराज हस्तान्तरण गरेका छन्।

‘एक टाटा नेपाल जीएलओएफ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत टाटा समूह र सिप्रदियन सहायता संस्था (एसएसएस) को सहकार्यमा उक्त सहयोग उपलब्ध गराइएको हो। तत्कालीन राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा नेपाल सरकारको मार्गदर्शनमा अघि बढाइएको यस पहलले प्रभावित परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने घरायसी सामग्री सुरक्षित राख्न सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमस, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहाल, टाटा दिगोपना समूहका सहायक उपाध्यक्ष श्रीरंग धवले, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत तथा निर्देशक राजेश प्रसाद गिरी र वरिष्ठ उपाध्यक्ष सौरभ राज थापालियाको उपस्थिति थियो।

त्यस्तै, विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटीसहित विभिन्न प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरू कार्यक्रममा सहभागी थिए।

कार्यक्रममा बोल्दै टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमसले विपद् प्रतिकार्य तत्कालीन राहतमा मात्र सीमित हुन नहुने बताए। प्रभावित परिवारको आत्मसम्मान पुनःस्थापित गर्न, जीवनलाई सामान्य अवस्थामा फर्काउन र सुरक्षित भविष्य निर्माण गर्न सहयोग गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

उनले ‘एक टाटा नेपाल जीएलओएफ विपद् प्रतिकार्य कार्यक्रम’ मार्फत टाटा समूह, यसका कर्मचारी तथा सिप्रदी समूह नुवाकोटका प्रभावित नागरिकको पुनर्स्थापनामा निरन्तर साथ दिन प्रतिबद्ध रहेको बताए।

त्यसैगरी, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालले समाजप्रतिको जिम्मेवारी व्यवसायमा मात्र सीमित नहुने बताए। वास्तविक आवश्यकता भएका व्यक्तिसम्म अर्थपूर्ण सहयोग पुर्‍याउनु संस्थाको उद्देश्य रहेको उल्लेख गर्दै उनले नुवाकोटमा सञ्चालित पहल कठिन परिस्थितिमा रहेका समुदायसँग साथमा उभिने निरन्तर प्रतिबद्धताको उदाहरण भएको बताए।

उनले अझ समावेशी र विपद् सामना गर्न सक्षम समाज निर्माणमा योगदान पुर्‍याउन संस्था निरन्तर प्रतिबद्ध रहेको पनि बताए।