नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्।
उपाधि भिडन्त शनिबार बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुनेछ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लुम्बिनीसँगको फाइनल भेट पक्का गरेको हो।
यससँगै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा प्रवेश गरेको छ भने लुम्बिनी र सुदूरपश्चिमबीच लगातार दोस्रो पटक फाइनल खेल हुन लागेको हो।
लगातार तीनवटै सिजनको फाइनल यात्रा तय गरे पनि सुदूरपश्चिमले अहिलेसम्म एनपीएलको उपाधि जित्न सकेको छैन। पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।
त्यस्तै, दोस्रो सिजनको फाइनलमा पनि लुम्बिनी र सुदूरपश्चिम नै पुगेका थिए। उक्त फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो। तेस्रो सिजनमा सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहँदा लुम्बिनी भने उपाधि रक्षा गर्ने दाउमा छ।
एकै सिजन तेस्रो भेट, अघिल्ला दुवै खेलमा लुम्बिनी विजयी
तेस्रो सिजनको लिग चरणमा लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम १० अंक जोडेर दोस्रो स्थानमा रहेको थियो।
यस सिजन लिग चरण र पहिलो क्वालिफायर गरी लुम्बिनी र सुदूरपश्चिम दुई पटक आमनेसामने हुँदा दुवै खेल लुम्बिनी लायन्सले जितेको छ। पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिममाथि ६ विकेटको एकपक्षीय जित हात पार्दै सिधै फाइनलमा स्थान बनाएको थियो।
शनिबार हुने फाइनल खेल एकै सिजनमा यी दुई टोलीबीचको तेस्रो भेट हुनेछ। सुदूरपश्चिमका लागि लिग र पहिलो क्वालिफायरमा भोगेको हारको नतिजा उल्ट्याउँदै उपाधि जित्ने अवसर रहेको छ।
पहिलो क्वालिफायरमा पराजित भएपछि फाइनल प्रवेशका लागि दोस्रो अवसर पाएको सुदूरपश्चिमले बिहीबार चितवन राइनोजविरुद्ध ३ विकेटको रोमाञ्चक जित निकालेको हो।
कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। चितवनका डेविड मलानले ५१ बलमा ९ चौका र २ छक्कासहित ७१ रनको अविजित इनिङ्स खेले। सलाहुद्दिन खानले १८ र कमल ऐरीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ र थरिन्दु रत्नायकेले २ विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र ईशान पाण्डेले १-१ विकेट हात पारे।
१३४ रनको लक्ष्य सुदूरपश्चिमले एक बल बाँकी छँदा १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमको जितमा रत्नायकेले ४२ बलमा ७ चौकासहित ५३ रनको अविजित अर्धशतकीय इनिङ्स खेले। विनोद भण्डारीले २३, कप्तान दीपेन्द्रसिंह ऐरीले १५ तथा ईशान पाण्डे र आरिफ शेखले १०-१० रन जोडे।
चितवनका रञ्जित कुमारले २ तथा कमल ऐरी, रिजन ढकाल, उसामा मीर र सलाहुद्दिन खानले १-१ विकेट लिएका थिए।

प्रतिक्रिया