भारतीय कम्पनी एनटीपीसी ट्रेडिङ कर्पोरेसनले सम्झौता गर्न नसक्ने जनाएपछि नेपाल विद्युत प्राधिकरणले आगामी सुख्खायामका लागि भारतबाट १५० मेगावाट विद्युत खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।
प्राधिकरणले जनवरी २०२७ देखि मे २०२७ सम्म विद्युत आयात गर्ने गरी भारतका अनुमतिप्राप्त विद्युत व्यापारिक कम्पनीहरूसँग प्रतिस्पर्धात्मक दरमा खरिद गर्न बोलपत्र माग गर्ने प्रस्ताव अघि बढाउने तयारीमा प्राधिकरण सञ्चालक समिति छ।
प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार प्राधिकरणले १५० मेगावाट विद्युत चौबिसै घण्टा अर्थात् राउन्ड द क्लक (आरटीसी) मोडमा खरिद गर्ने योजना बनाएको छ।
यस वर्ष भोटेकोशी नदीमा आएको हिमबाढीका कारण निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाको करिब ४३० मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएपछि सुख्खायामको आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ।
आगामी सुख्खायामसम्म करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना राष्ट्रिय प्रणालीमा जोडिने अपेक्षा गरिए पनि नदीको बहाव घट्दा ती आयोजनाबाट करिब ९० मेगावाट मात्रै विद्युत उत्पादन हुने अनुमान छ।
पछिल्ला दुई-तीन वर्षदेखि सुख्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा नेपालले भारतको विद्युत पावर एक्सचेन्ज (आईईएक्स) को डे अहेड मार्केट (डीएएम) तथा रियल टाइम मार्केट (आरटीएम) बाट विद्युत खरिद गर्दै आएको छ।
प्राधिकरणको विद्युत व्यापार विश्लेषण समितिले २०८३ भदौ २५ गते जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत आरटीसी मोडमा खरिद गर्न व्यवस्थापनसमक्ष सिफारिस गरेको थियो।
समितिले अप्रिल र मे महिनामा माग बढ्ने भएकाले त्यसबेलाको आपूर्ति-माग अवस्था तथा भारतीय बजारमा उपलब्ध विद्युतको क्षमताका आधारमा थप विद्युत भारतीय पावर एक्सचेन्जबाट खरिद गर्ने निर्णय लिनुपर्ने निष्कर्ष निकालेको थियो।
यसअघि प्राधिकरणले १५० मेगावाट विद्युत खरिदका लागि तीन भारतीय कम्पनीसँग दररेट प्रस्ताव माग गरेको थियो। जसमा एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट ६ रुपैयाँ ९० पैसा भारतीय रुपैयाँ, मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ दर प्रस्ताव गरेका थिए।
सबैभन्दा कम दर प्रस्ताव गर्ने एनटीपीसी ट्रेडिङ कर्पोरेसनलाई सञ्चालक समितिको निर्णयअनुसार असोज १६ गते आशयपत्र (एलओआई) जारी गरी असोज २९ गते विद्युत खरिद सम्झौताका लागि बोलाइएको थियो। तर, कम्पनीले असोज ३० गते पत्र पठाउँदै प्रस्तावित दरमा सम्झौता गर्न नसक्ने र पुरानो प्रस्ताव पुनरावलोकन गर्नुपर्ने जानकारी गराएको थियो।
कम्पनीले भूराजनीतिक अनिश्चितता, कोइला तथा अन्य इन्धनको मूल्यवृद्धि, विश्वव्यापी मौसम परिवर्तन तथा एल निनो प्रभाव र भारतभित्रै बढ्दो विद्युत मागलाई कारण देखाउँदै प्रतियुनिट ६ रुपैयाँ ९० पैसामा विद्युत दिन नसक्ने जनाएको हो।
यसैबीच, भारतीय विद्युत बजारको डे अहेड मार्केटमा असोज २०८३ को औसत बजार समायोजन मूल्य (एमसीपी) प्रतियुनिट ११ रुपैयाँ ७४ पैसा नेपाली रुपैयाँ अर्थात् ७ रुपैयाँ ३४ पैसा भारतीय रुपैयाँ पुगेको छ। यसले अघिल्लो प्रस्तावित दरमा सम्झौता हुन नसकेको अवस्थालाई थप जटिल बनाएको छ।
पुरानो दरमा सम्झौता हुन नसकेको र सुख्खायाममा माग तथा आपूर्तिबीचको अन्तर बढ्न सक्ने भएकाले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत तुलनात्मक रूपमा प्रतिस्पर्धी दरमा विद्युत खरिद गरी समयमै आपूर्ति जोखिम न्यूनीकरण गर्ने प्राधिकरणको योजना छ।

प्रतिक्रिया