अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना कतारको राजधानी दोहा पुगेका छन्।

नोभेम्बर ९ देखि २७ सम्म आयोजना हुने महासम्मेलनमा सहभागी हुन उनी नोभेम्बर ७ मा दोहा पुगेका हुन्। हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कुमार राईसहितका अधिकारीहरूले स्वागत गरेका थिए।

मन्त्री तिमिल्सिनाले नोभेम्बर ८ मा कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री र सञ्चार नियामक प्राधिकरणले आयोजना गरेको मन्त्रीस्तरीय गोलमेच बैठकमा सहभागिता जनाएका थिए। बैठकमा महासम्मेलनका प्रमुख कार्यसूची, दूरसञ्चार क्षेत्रका साझा सरोकार र दोहा घोषणापत्रका विषयमा विभिन्न देशका मन्त्रीहरूबिच छलफल भएको थियो। उनले प्रतिनिधिमण्डल प्रमुखहरूको बैठकमा समेत सहभागिता जनाएका थिए।

कतार भ्रमणका क्रममा मन्त्री तिमिल्सिनाले दोहास्थित नेपाली राजदूतावासको भ्रमण गरी नेपाल-कतार सम्बन्ध र दूतावासका गतिविधिबारे जानकारी लिएका थिए। उनले कतारमा रहेका नेपालीलाई छिटोछरितो र प्रभावकारी सेवा दिन तथा सेवा प्रवाहलाई सहज र पारदर्शी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गर्न दूतावासका अधिकारीहरूलाई निर्देशन दिएका थिए। उनले गैरआवासीय नेपाली संघ कतारलगायत नेपाली समुदायका प्रतिनिधिसँग पनि अन्तरक्रिया गरेका थिए।

मन्त्री तिमिल्सिनाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, कार्यवाहक राजदूत कुमार राई र नेपाल दूरसञ्चार कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याललगायत सहभागी छन्।

हरेक चार वर्षमा आयोजना हुने आईटीयू महासम्मेलन संघको सर्वोच्च नीति निर्माण गर्ने निकाय हो। यसले संस्थाको नीति, चार वर्षीय रणनीतिक तथा वित्तीय योजना तय गर्नुका साथै विभिन्न पदाधिकारी र सदस्यहरूको निर्वाचन गर्छ। महासम्मेलनमा नेपालको सहभागिताले विश्वव्यापी दूरसञ्चार नीति निर्माणमा नेपालको प्रतिनिधित्व र अन्तर्राष्ट्रिय सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।