चीनले अमेरिकाबाट आयात हुने वस्तुमा लगाउँदै आएको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्कको निलम्बन थप दुई महिनाका लागि लम्ब्याउने निर्णय गरेको छ। तर १० प्रतिशत अतिरिक्त भन्सार शुल्क भने यथावत् रहनेछ।
चीनको राज्य परिषद्अन्तर्गतको भन्सार शुल्क आयोगले सोमबार यस्तो निर्णय सार्वजनिक गरेको हो। आयोगका अनुसार नयाँ व्यवस्था नोभेम्बर १० देखि लागू हुनेछ।
यो निर्णय वासिङ्टनमा चीन र अमेरिकाका राष्ट्रप्रमुखबिच भएको भेटवार्तामा बनेको सहमति कार्यान्वयन गर्ने उद्देश्यले गरिएको आयोगले जनाएको छ।
चीनले सन् २०२५ मा जारी गरेको घोषणाअनुसार अमेरिकाबाट आयात हुने वस्तुमा थप २४ प्रतिशत भन्सार शुल्क लगाउने निर्णय स्थगित गरेको थियो। अहिले त्यसको निलम्बनलाई थप दुई महिनाका लागि निरन्तरता दिने निर्णय गरिएको हो। यद्यपि, १० प्रतिशत अतिरिक्त शुल्क भने कायमै रहनेछ।
चीनले आफ्नो भन्सारसम्बन्धी कानुन, भन्सार ऐन, वैदेशिक व्यापार ऐन र अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्तअनुसार यो निर्णय गरेको जनाएको छ।
चीनको भन्सार शुल्क आयोगका अनुसार अमेरिकाले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आईईईपीए) अन्तर्गत लगाएका भन्सार शुल्कलाई धारा ३०१ अन्तर्गतका शुल्कले प्रतिस्थापन गर्ने योजना बनाएको जानकारी दिएको छ।
आयोगले अमेरिकी पक्षका आगामी कदमलाई नजिकबाट निगरानी गर्ने र परिस्थितिअनुसार आफ्ना भन्सारसम्बन्धी जवाफी उपायमा आवश्यक परिवर्तन गर्ने जनाएको छ।
अमेरिकी वस्तुमा लगाइएको अतिरिक्त भन्सार शुल्कको केही हिस्सा निलम्बन गर्दा दुवै देशका व्यवसायीबिच सहकार्य गर्न सहज हुने चीनको विश्वास छ। यसले व्यापारका लागि स्थिर र अनुमान गर्न सकिने वातावरण बनाउन तथा चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई दीर्घकालीन रूपमा अघि बढाउन सहयोग पुग्ने आयोगले जनाएको छ।
चीनको पछिल्लो निर्णयले दुई देशबिच जारी व्यापारिक तनाव कम गर्न र वार्तामार्फत सहमति खोज्न थप समय उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया