नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार जारी ‘डे-नाइट’ खेलमा काठमाडौं गोर्खाजका अन्तर्राष्ट्रिय स्टार ब्याटर डेभिड वार्नर मात्र १ रन बनाएर आउट भएका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ थालेको काठमाडौंले तेस्रो ओभरमै ठूलो धक्का व्यहोर्‍यो।

इनिङ्सको २.४ ओभरमा चितवनका तीव्र गतिका बलर कमल ऐरीले वार्नरलाई १ रनमै बोल्ड गरे। वार्नरले ६ बल खेल्दा कुनै बाउन्ड्री प्रहार गर्न सकेनन्।

वार्नर सस्तैमा पेभेलियन फर्किँदा काठमाडौंले २.४ ओभरमा १ विकेट गुमाएर ९ रन बनाएको छ। हाल क्रिजमा विकेटकिपर साहिल पटेल १० बलमा १ चौकासहित ८ रन बनाएर खेलिरहेका छन्।

चितवनका लागि घातक बलिङ गरेका कमल ऐरीले १.४ ओभरमा ८ रन खर्चेर १ विकेट लिएका छन् भने रिजन ढकालले १ ओभरमा १ रन दिएर कसिलो बलिङ गरे।