तिहारको उल्लासबीच जथाभावी पड्काइने पटाकाका कारण एकातिर मानवीय क्षति भइरहेको छ भने अर्कातिर वायु प्रदूषण र बहिरोपनको स्वास्थ्य जोखिम निम्तिएको छ। पर्सामा आज आफ्नै घरअगाडि पटाका पड्काउने क्रममा छर्रा लागेर ८ वर्षीय एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पकहामैनपुर गाउँपालिका-२ का रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी पटाका पड्काउँदा छातीमा छर्रा लागेर गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरे।

यता राजधानी काठमाडौंमा पटाका र आतिसबाजीका कारण वायु प्रदूषण अस्वस्थकर तहमा पुगेको छ। एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार आज मध्याह्नसम्म काठमाडौं १४३ एक्यूआईसहित विश्वकै प्रदूषित सहरको सूचीमा १० औं स्थानमा पुगेको छ।

एक्यूआई मापदण्डअनुसार ०-५० लाई ‘राम्रो’, ५१-१०० ‘मध्यम’, १०१-१५० ‘अस्वस्थ’, १५१-२०० ‘सबैका लागि अस्वस्थ’, २०१-३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथिलाई ‘अत्यन्त खतरनाक’ मानिन्छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले तिहारमा प्रयोग गरिने प्लास्टिकका फूल र पटाकाजन्य सामग्रीले वातावरणमा गम्भीर असर पार्नुका साथै कार्बन उत्सर्जन बढाएको बताए।

पटाकाबाट निस्कने धुवाँ र विषाक्त ग्यासले वायुमण्डलको गुणस्तर बिगारेको भन्दै उनले प्राकृतिक फूल र प्रदूषणरहित विकल्प अपनाउन आग्रह गरे। खुला सिमानाका कारण अवैध रूपमा भित्रिने यस्ता वस्तु नियन्त्रण गर्न उपभोक्ता स्वयं सचेत हुनुपर्ने उनको भनाइ छ।

वातावरणविद् राजन थापाले केही दिनअघिको वर्षापछि सफा भएको उपत्यकाको वातावरण पटाकाका कारण पुनः अस्वस्थ बनेको बताए।

सार्वजनिक बिदाका कारण गाडीको चाप नहुँदा र निर्माण कार्य ठप्प रहँदा पनि वायु प्रदूषण बढ्नुले पटाकाको भूमिका प्रस्ट पारेको उनको तर्क छ। पटाकाको चर्को आवाजले पशुपन्छी र घरपालुवा जनावरलाई समेत त्रसित बनाएको उनले औंल्याए।

यसैबीच, पटाकाको चर्को आवाजले कानको जाली फुट्ने र स्थायी बहिरोपन निम्तिन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन्। वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताले पटाका विस्फोटबाट उत्पन्न हुने अत्यधिक आवाजले ‘एकोस्टिक ट्रमा’ भई कानका भित्री सूक्ष्म कोषिका नष्ट हुने बताए।

‘सामान्यतया ८५ डेसिबलसम्मको ध्वनिलाई सुरक्षित मानिन्छ, तर पटाका विस्फोट हुँदा १४० देखि १५० डेसिबलसम्म ध्वनि निस्कन्छ,’ डा. गुप्ताले भने, ‘यसले कानको भित्री संरचना नष्ट गर्न सक्छ। ती कोषिका फेरि बन्दैनन्, जसले गर्दा मानिस सधैंका लागि बहिरो हुन सक्छ।’

कानमा सिट्टी बजेको जस्तो हुने, बन्द हुने, रगत आउने वा आवाज धमिलो सुनिने समस्या २४ देखि ४८ घण्टासम्म पनि कम नभए तत्काल विशेषज्ञसँग परामर्श लिन डा. गुप्ताले सुझाव दिए। उनले बालबालिकालाई पटाकाबाट टाढा राख्न र आवाजबाट बच्न इयर प्लग प्रयोग गर्न आग्रह गरे।