एसीसी पुरुष यू–१९ एसिया कप २०२६ मा सहभागी हुन नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोली पोखराबाटै ओमान प्रस्थान गरेको छ। कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा आयोजना हुने प्रतियोगिताका लागि १५ सदस्यीय टोली सोमबार फ्लाई दुबईको विमानमार्फत दुबई हुँदै ओमान उडेको हो।

टोलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेश क्रिकेट संघ र कास्की जिल्ला क्रिकेट संघका पदाधिकारी तथा शुभेच्छुकले बिदाइ गरेका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहितको उपस्थितिमा टोलीलाई औपचारिक कार्यक्रम गरी बिदाइ गरिएको थियो।

बिदाइ कार्यक्रममा महानगर प्रमुख आचार्यले नेपाली टोलीलाई पोखराबाटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पठाउन पाउँदा गौरव महसुस भएको बताए। ‘फ्लाई दुबईमार्फत पोखराबाट दुबई हुँदै ओमान पठाउन पाउँदा हामी अत्यन्तै खुसी छौँ,’ उनले भने, ‘टोलीले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छौँ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले अभ्यासका लागि पोखरा रोजेकोमा नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिए। राष्ट्रिय टोलीलाई आतिथ्यता गर्न पाउनु पोखराका लागि गौरवको विषय भएको उल्लेख गर्दै उनले खेलाडीको मेहनत, लगनशीलता र सामूहिक प्रयासले सफलता हासिल हुने विश्वास व्यक्त गरे।

नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्माले पोखराबाटै दुबई हुँदै ओमान जान पाउँदा खुसी लागेको बताए। काठमाडौं पुगेर उड्नुपर्दा समय बढी लाग्ने भए पनि पोखराबाटै प्रस्थान गर्दा समय बचत भएको उनको भनाइ छ। ‘पोखरामा भएको अभ्यास निकै राम्रो रह्यो। हामीले गरेको मेहनतअनुसारकै नतिजा ल्याएर देशको शिर उँचो बनाउने आशा छ,’ उनले भने।

प्रशिक्षक वसन्त शाही ठकुरीले प्रतियोगितामा नतिजाको दबाब नलिई खुलेर खेल्ने बताए। टेस्ट राष्ट्रका टोलीसँगको प्रतिस्पर्धामा नेपाली खेलाडी नडराई मैदानमा उत्रने उनको भनाइ छ। ‘यो प्रतियोगिता नेपाली खेलाडी र देशका लागि भाग्य र भविष्य बदल्ने अवसर हो। ठूलो मञ्चमा खेल्न गइरहेकाले यसको महत्त्व विशेष छ,’ उनले भने।

नेपाली यू–१९ राष्ट्रिय टोलीले प्रतियोगिताको तयारीस्वरूप पोखरामा पाँच दिन बन्द प्रशिक्षण गरेको थियो।