चीनका राष्ट्रपति सी जिनपिङले मध्यपूर्व र खाडी क्षेत्र शक्तिशाली राष्ट्रहरूबिचको प्रतिस्पर्धाको युद्धमैदान बन्न नहुने बताएका छन्।

सोमबार बेइजिङमा ओमानका सुल्तान हैथम बिन तारिक अल सईदसँग भएको भेटवार्तामा सीले यस्तो बताएका हुन्। उनले विश्वमा अहिले ठुलो परिवर्तन भइरहेको उल्लेख गर्दै मध्यपूर्वमा शान्ति र स्थिरता कायम गर्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए। चीन पनि यस क्षेत्रमा शान्ति कायम गर्न अरब राष्ट्रहरूसँग मिलेर काम गर्न तयार रहेको उनको भनाइ थियो।

‘मध्यपूर्व र खाडी क्षेत्र महाशक्तिहरूबिचको प्रतिस्पर्धा र राजनीतिक द्वन्द्वको अखडा बन्नु हुँदैन। यस क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न सबै पक्षले मिलेर काम गर्न आवश्यक छ,’ चिनियाँ विदेश मन्त्रालयले सीको भनाइ उद्धृत गर्दै जनाएको छ।

चीन युद्ध रोक्न प्रतिबद्ध रहेको बताउँदै सीले मध्यपूर्वको सुरक्षा समस्या समाधान गर्न आफ्नो देशले सुझाव र उपाय दिन चाहेको बताए। चीनले खाडी सहयोग परिषद्का सदस्य राष्ट्रसहित अन्य अरब देशहरूसँग छलफल र सहकार्य बढाएर शान्ति कायम गर्न तथा क्षेत्रको सुरक्षा बलियो बनाउन चाहेको उनको भनाइ थियो।

चीन र ओमानले जारी गरेको २० बुँदे संयुक्त वक्तव्यमा होर्मुज जलमार्गमा जहाजको आवतजावत सामान्य र सुरक्षित रूपमा सुरु हुनुपर्नेमा जोड दिइएको छ। दुवै देशले अमेरिका र इरानलाई शान्तिपूर्ण बाटो अपनाउन, द्वन्द्व अन्त्य गर्ने उद्देश्यले जुनमा भएको सम्झौतामा फर्कन र वार्ता फेरि सुरु गर्न आग्रह गरेका छन्।

यसैबिच, चीनको विदेश मन्त्रालयले मध्यपूर्वका लागि विशेष दूत झाई जुनले यसै महिना इरान, ओमान र साउदी अरेबियाको भ्रमण गर्ने जनाएको छ। मध्यपूर्वमा जारी तनाव कम गर्न चीनले कूटनीतिक प्रयास बढाएको यो अर्को संकेत हो।

ओमानका सुल्तान हैथम आइतबार दुई दिने राजकीय भ्रमणका लागि बेइजिङ पुगेका थिए। सन् १९७८ मा चीन र ओमानबिच कूटनीतिक सम्बन्ध स्थापना भएयता ओमानका राष्ट्रप्रमुखले गरेको यो पहिलो चीन भ्रमण हो।

भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सीसँग दुई देशबिचको सम्बन्ध, व्यापार, लगानी र क्षेत्रीय सुरक्षाबारे छलफल गरे। ओमानको सरकारी सञ्चारमाध्यमका अनुसार उनले क्षेत्रीय विषयमा चीनले लिएको अडानको प्रशंसा गरेका थिए।

हैथमले विकास र स्थिरता एक अर्कासँग जोडिएको बताउँदै कुनै पनि देशको समृद्धिका लागि सुरक्षा, शान्ति, राष्ट्रिय स्वाधीनताको सम्मान र अन्तर्राष्ट्रिय कानुनको पालना आवश्यक रहेको बताए।

‘देशहरूको समृद्धिका लागि सुरक्षा, शान्ति, राष्ट्रिय स्वाधीनताको सम्मान र अन्तर्राष्ट्रिय कानुन पालना हुने वातावरण आवश्यक छ। विवादहरू शान्तिपूर्ण तरिकाले समाधान हुनुपर्छ,’ हैथमले भने।

उनले चीनसँग व्यापार र लगानीसम्बन्धी छुट्टै सम्झौता गर्न ओमान इच्छुक रहेको पनि बताए। ‘यस्तो सम्झौताले व्यापार र लगानीका नयाँ अवसर खोल्नेछ। साथै, दुई देशबिच व्यापार र लगानी बढाउन सहयोग पुग्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।

चिनियाँ राष्ट्रपति सीले ओमानसँग विकासका योजनामा मिलेर काम गर्न चीन तयार रहेको बताएका छन्। उनले ऊर्जा क्षेत्रमा भरपर्दो साझेदारी, लगानी विस्तार र नयाँ प्रविधिको विकासमा दुवै देशले सहकार्य गर्न सक्ने बताए।

सीले चीन र ओमानबिचको रणनीतिक सम्बन्धलाई थप बलियो बनाउन आफू तयार रहेको पनि बताए। ‘चीन–ओमान सम्बन्धलाई अझ बलियो बनाउन, दुवै देशका जनताको हितमा काम गर्न र यस क्षेत्रमा शान्ति, स्थिरता तथा समृद्धि कायम गर्न म तपाईंसँग मिलेर काम गर्न तयार छु,’ उनले भने।

चीन ओमानको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो। गत वर्ष नोभेम्बरदेखि चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबिच सिधा हवाई उडान सुरु भएपछि दुई देशबिच पर्यटन र व्यापार बढेको छ।

ओमानले चीनमा कच्चा तेल र अन्य ऊर्जा सामग्री निर्यात गर्दै आएको छ। पछिल्लो समय उसले स्वच्छ ऊर्जा, डिजिटल व्यापार र नयाँ प्रविधिको क्षेत्रमा पनि लगानी बढाउन खोजिरहेको छ।

दुवै देशले तेल तथा प्राकृतिक ग्यासको क्षेत्रमा सहकार्य बढाउने सहमति गरेका छन्। त्यस्तै, सौर्य ऊर्जा, वायु ऊर्जा, विद्युत् प्रसारण र ऊर्जा भण्डारणका क्षेत्रमा पनि मिलेर काम गर्ने संयुक्त वक्तव्यमा उल्लेख छ।

ओमानले स्वच्छ ऊर्जासँगै कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, अन्तरिक्ष र रक्षा क्षेत्रमा पनि चीनसँग मिलेर लगानीका परियोजना अघि बढाउन चाहेको छ। यसका लागि संयुक्त लगानी कोषमार्फत नयाँ परियोजना सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ।

भ्रमणका क्रममा ओमानका सुल्तानले लगानीकर्ता र वित्तीय संस्थाहरूबिच सहकार्य बढाउनुपर्नेमा पनि जोड दिएका थिए। बेइजिङ विमानस्थलमा उनलाई चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाका गभर्नर पान गोङसेङले स्वागत गरेका थिए।

चीन र ओमानबिचको यो भ्रमणले व्यापार, ऊर्जा, प्रविधि र क्षेत्रीय शान्तिका क्षेत्रमा दुई देशबिचको सहकार्य थप बढाउने अपेक्षा गरिएको छ। एजेन्सी