ब्रान्डन म्याकमुलनको विष्फोटक इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजमाथि ५ विकेटको सहज जित हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न ‘डे-नाइट’ खेलमा जितका लागि पाएको १ सय ३० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २० बल बाँकी छँदै १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमको जितमा ओपनर ब्रान्डन म्याकमुलनले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४३ रन जोडे। उनले मात्र २१ बलमा ६ चौका र २ छक्का प्रहार गरेपछि सुदूरपश्चिमको जितको आधार तय भएको थियो।
लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको सुरुवात भने कमजोर थियो। ओपनर सेफ जैब दोस्रो ओभरमै २ रनमा आउट भए भने विनोद भण्डारी ११ रन बनाएर पभेलियन फर्किए।
त्यसपछि आएका म्याकमुलनले छिटो रन जोडे पनि सातौं ओभरमा चितवनका बलर रञ्जित कुमारले लगातार दुई बलमा म्याकमुलन र सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी (०) लाई आउट गराएर खेलमा केही दबाब सिर्जना गरेका थिए।
त्यसपछि सम्हालिएर खेलेका इशान पाण्डेले २९ बलमा २५ रन जोडे। पाँचौं विकेटका रूपमा पाण्डे आउट भएपछि क्रिजमा आएका आरिफ शेख र शेरफेन रदरफोर्डले टोलीलाई जितसम्म पुर्याए। आरिफले अविजित २० रन र रदरफोर्डले १५ बलमा अविजित २१ रनको योगदान दिए।
चितवनका लागि बलिङतर्फ रञ्जित कुमारले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारे भने रिजन ढकाल र मौसम ढकालले १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन मात्र जोड्न सकेको थियो। चितवनका लागि अनुभवी ब्याटर रवि बोपाराले सर्वाधिक ४९ रन बनाएका थिए। ४० बलमा ३ चौका र २ छक्का प्रहार गरेका बोपारा १ रनले अर्धशतकबाट चुकेका थिए।
चितवनका विवेक यादवले १७, डेविड मलानले १६, अर्जुन साउद र कप्तान सिकन्दर राजाले समान १५-१५ रन बनाएका थिए।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले ४ ओभरमा २६ रन दिएर २ विकेट लिए भने कप्तान दीपेन्द्र सिंह ऐरी, अनिल खरेल र हेमन्त धामीले १-१ विकेट हात पारेका थिए।

प्रतिक्रिया