ढल र फोहोर पानीको उचित व्यवस्थापन, प्रदूषण नियन्त्रण तथा प्राकृतिक बहाव संरक्षण गर्न सके भक्तपुरको हनुमन्ते नदीलाई पुनर्जीवन दिन सकिने वातावरणविद्हरूले बताएका छन्। स्वीडेनका नदीहरू र बेलायतको थेम्स नदीमा प्रदूषण नियन्त्रणपछि आएको सुधारको उदाहरण दिँदै उनीहरूले योजनाबद्ध प्रयासबाट प्रदूषित नदीलाई पनि स्वच्छ र जीवन्त बनाउन सकिने बताएका हुन्।
वातावरण संरक्षण मञ्च भक्तपुरको बुधबार आयोजित २१औँ वार्षिक साधारण सभा तथा स्मारिका/पत्रिका विमोचन कार्यक्रममा वातावरणविद् डा. उकेशराज भुजुले हनुमन्ते नदीको प्रमुख समस्याका रूपमा ढल तथा फोहोर पानी मिसिनु, पानीको अत्यधिक दोहन हुनु र प्राकृतिक बहाव प्रभावित हुनु औँल्याए।
उनका अनुसार स्वीडेनका नदीहरू र बेलायतको लन्डनस्थित थेम्स नदी कुनै समय ढल तथा दूषित पानीका कारण प्रदूषित थिए। ढल प्रशोधन, प्रदूषण नियन्त्रण र पानीको गुणस्तर सुधारका लागि गरिएका प्रयासले ती नदीको अवस्थामा उल्लेखनीय परिवर्तन ल्याएको छ। थेम्स नदीमा प्रदूषण नियन्त्रणपछि माछालगायत जलचरको सङ्ख्यामा समेत वृद्धि भएको विभिन्न अध्ययनले देखाएको उनले बताए।
डा. भुजुका अनुसार भक्तपुर क्षेत्रका उद्योग तथा अन्य स्रोतबाट निस्कने फोहोर पानी हनुमन्ते नदीमा मिसिने गरेको छ। नदीको पानी खानेपानी र सिँचाइका लागि निकालिनुका साथै इँटाभट्टालगायत क्षेत्रमा प्रयोग हुँदा यसको प्राकृतिक बहावमा असर परेको छ। पर्याप्त पानी नबग्ने र त्यसमाथि फोहोर पानी मिसिने अवस्थाले नदीको प्रदूषण थप गम्भीर बनाएको उनको भनाइ छ।
विशेषगरी सुक्खा मौसममा नदीको पानी अत्यधिक प्रदूषित हुँदा वातावरण र जनस्वास्थ्यमा जोखिम बढ्न सक्ने उनले बताए। हनुमन्तेलाई पुनर्जीवन दिन प्रदूषणका स्रोत नियन्त्रण गर्ने, ढल प्रशोधन गरेर मात्र नदीमा विसर्जन गर्ने, पानीको दिगो उपयोग सुनिश्चित गर्ने र नदी व्यवस्थापनलाई प्रभावकारी बनाउने काम प्राथमिकतामा राख्नुपर्ने उनले औँल्याए।
स्वीडेनका नदी र थेम्स नदीमा आएको सुधारले प्रदूषित नदीलाई पनि योजनाबद्ध प्रयासबाट पुनर्जीवन दिन सकिने देखाएको उल्लेख गर्दै उनले हनुमन्तेको सुधारका लागि पनि उपलब्ध ज्ञान, प्रविधि र प्रभावकारी व्यवस्थापनको आवश्यकता रहेको बताए।
कार्यक्रममा अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता आयोजना प्रमुख मचाकाजी महर्जन, वातावरणविज्ञ जुद्धबहादुर गुरुङ तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का वरिष्ठ वैज्ञानिक डा. निलकमल कोजुलगायतले हनुमन्ते नदीको अवस्था सुधार गर्न उपलब्ध ज्ञान र प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए।
उनीहरूले नदीलाई पूर्ववत् अवस्थामा फर्काउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्नभन्दा पनि त्यसका लागि प्रभावकारी प्रयास कसरी गर्ने भन्ने विषय महत्त्वपूर्ण रहेको बताए। नदीको प्रदूषण नियन्त्रण र संरक्षणका लागि सम्बन्धित निकाय, स्थानीय तह तथा सरोकारवालाबीच समन्वय आवश्यक रहेको उनीहरूको भनाइ थियो।
हनुमन्ते भक्तपुर भएर बग्ने सबैभन्दा ठूलो नदी हो। बागमती नदीको सहायक नदीका रूपमा रहेको हनुमन्ते नगरकोटस्थित महादेव पोखरीबाट उत्पत्ति भई भक्तपुर र मध्यपुर थिमि नगरपालिकाका विभिन्न क्षेत्र हुँदै बगेर काठमाडौँ जिल्लाको मनोहरा नदीमा मिसिन्छ।
हनुमन्तेमा मिसिएको फोहोर पानी मनोहरा हुँदै बागमतीसम्म पुग्ने भएकाले यसको प्रदूषणले अन्य नदीको अवस्थासमेत प्रभावित पार्ने वातावरणविद्हरूको भनाइ छ। त्यसैले बागमती र मनोहराको प्रदूषण नियन्त्रणका लागि पनि हनुमन्तेलाई सफा बनाउनु आवश्यक रहेको उनीहरूले बताएका छन्।
हनुमन्ते नदीको पुनर्जीवन केवल नदी सफा गर्ने अभियानमा सीमित नभई ढल व्यवस्थापन, फोहोर पानी प्रशोधन, पानीको दिगो उपयोग र प्राकृतिक बहाव संरक्षणलाई एकीकृत रूपमा अघि बढाउने विषय भएको वातावरणविद्हरूको निष्कर्ष छ।

प्रतिक्रिया