नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कालीकोटमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले नगेन्द्रबहादुर विष्टलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको छ।

जिल्ला सभापतिका लागि विष्ट र मातृका सिंहबीच प्रतिस्पर्धा हुने अवस्था थियो। तर, पार्टीलाई जिल्लामा थप बलियो बनाउने र सङ्गठनलाई एकताबद्ध गर्ने उद्देश्यसहित विष्टलाई सर्वसम्मत सभापति चयन गरिएको हो।

अधिवेशनले जिल्ला कार्यसमितिको उपसभापतिमा केशरसिंह बम र भरतबहादुर मल्ल, सचिवमा सविनकुमार विष्ट र नेत्रबहादुर शाही, कोषाध्यक्षमा गोर्खबहादुर बटाला तथा सहसचिवमा मनबहादुर बुढा र धीरबहादुर शाहीलाई चयन गरेको छ।

अधिवेशनमा ठूलो सङ्ख्यामा कार्यकर्ता सहभागी भएका थिए। देउवा पक्षले यसलाई जिल्लामा आफ्नो सङ्गठनात्मक उपस्थिति र राजनीतिक प्रभाव देखाउने अवसरका रूपमा लिएको छ।

पार्टीभित्र दुई धार देखिएका बेला कालिकोटमा ८२ वडा, नौवटा पालिका तथा प्रदेश ‘क’ र ‘ख’ का अधिवेशन प्रक्रिया पूरा गर्दै जिल्ला अधिवेशन सम्पन्न गरिएको कांग्रेस नेता भूपेन्द्रजङ्ग शाहीले बताए।

उनका अनुसार कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गत असोज १५ गतेदेखि सुरु भएको वडा अधिवेशन प्रक्रियाकै निरन्तरतामा जिल्ला अधिवेशन सम्पन्न भएको हो।