काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा भएको कुटपिटबाट एक युवकको मृत्यु भएको छ। घटनामा प्रत्यक्ष संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ भने अनुसन्धानका लागि अन्य तीन जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका-१४ कलंकीमा बुधबार दिउँसो ३:३० बजे सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका-३ घर भई हाल काठमाडौंको खसी बजार बस्ने १८ वर्षीय रोशन पाख्रिन र सोही ठाउँ बस्ने १९ वर्षीय रुपेश पाख्रिनबीच सामान्य विवाद भएको थियो।
विवाद बढ्दै जाँदा भएको कुटपिटबाट गम्भीर घाइते भई बेहोस भएका रोशनलाई तत्काल उपचारका लागि कलंकीस्थित शहीद मेमोरियल अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनालगत्तै कुटपिटमा प्रत्यक्ष संलग्न रुपेश पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे सोधपुछ तथा अनुसन्धानका लागि अन्य तीन जनालाई समेत नियन्त्रणमा लिइएको छ।
यस घटनाका सम्बन्धमा प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया