बलिउड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरको निधन र अन्तिम संस्कारबारे प्रश्न उठाउँदै गम्भीर आरोप लगाएकी छन्।
उनले नानाको अन्तिम संस्कारअघि बलिउड र सञ्चारमाध्यमका कसैले पनि उनको शव नदेखेको दाबी गर्दै निधनको खबरमाथि नै शंका व्यक्त गरेकी हुन्।
बलिउड अभिनेता पाटेकरको ७५ वर्षको उमेरमा गत बिहीबार गोवामा कार्डियक अरेस्टका कारण निधन भएको थियो।
तनुश्रीले सोमबार राति इन्स्टाग्राम लाइभमा नानाको अन्तिम संस्कार राति ११:२८ बजे किन गरियो र उनको सम्मानमा प्रार्थना सभा किन आयोजना गरिएन भन्ने प्रश्न उठाइन्। उनले परिवारले समेत उनको अनुहार राम्ररी देख्न पाएको थियो कि थिएन भन्ने जिज्ञासा पनि राखिन्।
तनुश्रीले नानालाई अस्पताल लगिएको, त्यहाँ निधन भएको घोषणा गरिएको र पोस्टमार्टम गरिएको भनिए पनि त्यससँग सम्बन्धित कुनै तस्बिर वा भिडियो सार्वजनिक नभएको दाबी समेत गरेकी छन्।
उनले अन्तिम संस्कार गरिएको शव नानाकै हो कि होइन भन्ने आशंका व्यक्त गर्दै उनी सिंगापुर वा मलेसियामा जीवित हुन सक्ने दाबीसमेत गरिन्। नानाले कानुनी कारबाहीबाट बच्न आफ्नो निधनको नाटक गरेको र नक्कली प्रमाणपत्र बनाएको हुन सक्ने आरोप पनि उनले लगाइन्। तर, यी दाबी पुष्टि गर्ने स्वतन्त्र प्रमाण उनले दिइनन्।
नानाको अन्तिम संस्कार राति गरिएको विषयमा उनका छोरा मल्हार पाटेकरले पनि स्पष्टीकरण दिएका थिए। इन्डियन एक्सप्रेसका अनुसार मल्हारले परिवार गोवामा रहेको र त्यहाँबाट नानाको पार्थिव शरीर पुणे नजिकैको फार्महाउससम्म ल्याउन अपेक्षाभन्दा बढी समय लागेको थियो। नानाको बिहानै निधन भएकाले धेरै समय बितिसकेको भन्दै परिवारले अर्को दिनसम्म नपर्खी सोही दिन नै अन्तिम संस्कार गर्ने निर्णय गरेको हो।
नानाको निधनको खबर सार्वजनिक भएपछि तनुश्रीले सामाजिक सञ्जालमा विवादित प्रतिक्रिया दिएकी थिइन्। उनले सन् २०१८ मा मीटु अभियानका क्रममा नानामाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि आफूले धेरै कठिनाइ भोगेको बताएकी थिइन्। आफूलाई उजुरी फिर्ता लिन दबाब दिइएको र विभिन्न प्रलोभन देखाइएको दाबी पनि उनले गरेकी थिइन्।
यो पनि पढ्नुहोस्
नाना पाटेकर निधनपछि तनुश्रीले भनिन् : ‘इभिल डेड’
तनुश्रीले त्यसपछि आफ्नो कारको ब्रेकमा समस्या पारिएको, दुर्घटना भएको र खानाका कारण बिरामी परेको जस्ता घटना भोगेको आरोपसमेत लगाएकी थिइन्। तर, यी घटनामा नानाको संलग्नता रहेको पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन। तनुश्रीका पछिल्ला अभिव्यक्तिपछि अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले उनको टिप्पणीको आलोचना गरेको छ। संस्थाका अध्यक्ष सुरेश श्यामलालले नानाको निधनपछि गरिएको टिप्पणीलाई असंवेदनशील भन्दै आपत्ति जनाएका थिए।
यो पनि पढ्नुहोस्
नानामाथि तनुश्रीले फेरि लगाइन् गम्भीर आरोप, ज्यान लिन खोजेको दाबी
तनुश्री र नानाबिचको विवाद सन् २००८ देखिको हो। तनुश्रीले फिल्म ‘हर्न ओके प्लिज’ को गीत छायांकनका क्रममा नानाले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। नानाले भने ती आरोप अस्वीकार गरेका थिए। सन् २०१८ मा भारतमा मीटु अभियान चर्चामा आएपछि यो विषय फेरि सार्वजनिक भएको थियो।
उनले नानासहित अन्य व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। सन् २०१९ मा प्रहरीले अनुसन्धानपछि पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा बन्द गर्ने प्रतिवेदन दिएको थियो।

प्रतिक्रिया