भोटेकोशीमा आएको विनाशकारी बाढीको डेढ महिनापछि बूढीगण्डकी नदीमा आएको बाढी पनि उच्च हिमाली क्षेत्रमा हिमनदी वा बरफको ठुलो पिण्ड भत्किएर खसेपछि उत्पन्न भएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ।
यसरी दुवै घटना हिमनदी सम्बन्धित बरफको ठुलो पिण्ड र चट्टान खस्ने घटनासँग जोडिएका रहेपनि बूढीगण्डकी बाढीको वास्तविक वैज्ञानिक कारण अझै पुष्टि हुन सकेको छैन।
त्यस क्षेत्रको जलवायु तथा वर्षासम्बन्धी तथ्याङ्कको प्रारम्भिक विश्लेषण गरेका अनुसन्धानकर्ता डा. सन्तोष नेपालका अनुसार बूढीगण्डकी बाढीको उत्पत्तिस्थल मानिएको सात हजार १०० मिटर अग्लो चामार हिमालको दक्षिणी भागमा रहेको हिमनदी वा बरफको ठुलो पिण्ड भत्किएर स्यार नदीमा खसेको देखिन्छ।
पानी र जलवायु परिवर्तनका विषयमा विद्यावारिधि गरेका अनुसन्धानकर्ता नेपालका अनुसार चामार हिमालको दक्षिणी भागमा करिब ५,००० मिटर उचाइबाट २,००० मिटर उचाइसम्म बरफको ठुलो पिण्ड खसेको आकलन छ। उक्त पिण्ड करिब पाँचदेखि छ किलोमिटर दूरीसम्म तल झरेको देखिन्छ। प्रभावित हिमनदीको भाग करिब १.२ किलोमिटर लामो र ६०० मिटर चौडा रहेको प्रारम्भिक अनुमान छ। तर कति परिमाणमा बरफ खसेको हो र त्यससँगै कति चट्टान तथा गेग्र्यान बगेको हो भन्ने अझै स्पष्ट भैसकेको छैन। यसको यकिन गर्न थप स्पष्ट उपग्रह तस्बिर र विस्तृत अध्ययन आवश्यक रहेको डा. नेपालले बताएका छन्।
यसैगरी, बूढीगण्डकी बाढीको सम्भावित उत्पत्तिस्थलमा परेको वर्षाले पनि यो घटनामा भूमिका खेलेको हुन सक्ने देखिएको छ। अनुसन्धानकर्ता नेपालका अनुसार मौसम पूर्वानुमानमा कार्यरत युरोपियन सेन्टरको ‘इरा-५ ल्यान्ड’ मा उपलब्ध वर्षासम्बन्धी तथ्याङ्कको प्रारम्भिक विश्लेषण गर्दा सेप्टेम्बरको अन्तिम साता बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणालीका कारण नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा भएको पाइएको छ।
डा. नेपालका अनुसार सेप्टेम्बर २४ देखि २७ सम्मको चार दिनमा चामार हिमाल क्षेत्रमा करिब २०६ मिलिमिटर वर्षा भएको तथ्यांकले देखाउँछ। यति उच्च उचाइमा परेको वर्षाको ठुलो हिस्सा हिमपातका रूपमा भएको हुन सक्ने अनुमान छ तर उक्त हिमपातले हिमनदी वा बरफको पिण्ड भत्किन र त्यसपछि बाढी आउन कस्तो भूमिका खेल्यो भन्ने निष्कर्षमा पुग्न थप अध्ययन आवश्यक छ।
उपग्रहबाट प्राप्त हिमआवरण (स्नो-कभर) सम्बन्धी तथ्याङ्कको विश्लेषणले उक्त अवधिमा परेको हिमपातको अवस्था बुझ्न र बाढी उत्पन्न गराउने प्रक्रियाबारे थप प्रमाण जुटाउन सहयोग गर्ने डा. नेपालले बताएका छन्।
भोटेकोशी बाढीसँग समानता ?
डा नेपालका अनुसार बूढीगण्डकी र भोटेकोशी बाढीबिच केही महत्त्वपूर्ण समानता देखिएका छन्। दुवै घटना उच्च हिमाली क्षेत्रमा हिमनदीसँग सम्बन्धित बरफ र चट्टान खस्ने प्रक्रियासँग जोडिएका छन्।
भोटेकोशीमा बाढी आउनु अघि सन् २०२५ को मनसुनपछिको अवधिमा लाङटाङ हिमाली क्षेत्रमा भारी हिमपात भएको देखिएको थियो। बूढीगण्डकी बाढीअघि पनि उच्च हिमाली क्षेत्रमा भारी वर्षा र सम्भावित हिमपात भएको तथ्यांकले देखाएको छ। यसले अत्यधिक वर्षा, हिमपात, बरफ तथा चट्टान खस्ने घटना र त्यसपछि उत्पन्न हुने बाढीबिच सम्भावित सम्बन्धबारे थप अध्ययन गर्नुपर्ने आवश्यकता देखाएको छ।
तर यी घटनाबिचको सम्बन्धलाई अहिल्यै निश्चित कारणका रूपमा व्याख्या गर्न नमिल्ने अनुसन्धानकर्ता डा. नेपालको तर्क छ। हिमपातले हिमनदी वा बरफको पिण्ड भत्किन सहयोग गरेको थियो वा थिएन भन्ने पुष्टि गर्न थप प्रमाण आवश्यक देखिन्छ।
पछिल्ला दुई घटनाबिच देखिएको अर्को उल्लेखनीय भिन्नता बाढीले बगाएर ल्याएको गेग्रानको प्रकृति हो। प्रारम्भिक अवलोकनअनुसार बूढीगण्डकी बाढीले ल्याएको बाढीमा कालो माटोको मसिनो कण अर्थात् क्लेको मात्रा बढी देखिएको छ। उता, भोटेकोशी बाढीमा ढु्गा, माटो, हिउँ सहितको गेग्र्यान मुख्य थियो। यसले भोटेकोशी र बूढीगण्डकी बाढीमा बगेर आएका पदार्थको संरचना तथा बाढीको प्रवाहको प्रकृति फरक रहेको संकेत गर्छ।
हिमालयमा विपद्को बदलिँदो जोखिम
आइतबार वुढीगण्डकीको बाढी पछि नेपालले करिब ४५ दिनको अन्तरालमा दुई विपत् खेपेको छ। यी दुई स्थान एक अर्काबाट करिब ४० किलोमिटरको दूरीमा रहनुले पनि हिमाली क्षेत्रमा विपद्को बदलिँदो प्रकृतिबारे गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने सन्देश दिएको विज्ञ मान्छन्। अध्येता नेपालका अनुसार यो नेपालमा मात्र सीमित समस्या नभई समग्र हिमाली क्षेत्र र विश्वव्यापी जलवायु चुनौतीसँग जोडिएको विषय हो।
हुन पनि, हिमाली क्षेत्रमा हुने परिवर्तनको प्रभाव उच्च भेगमा मात्र सीमित रहँदैन। बरफ, चट्टान र गेग्र्यान खस्ने, नदी थुनिने वा अचानक खुल्ने तथा अत्यधिक वर्षाले नदीमा पानीको बहाव तीव्र बनाउने जस्ता प्रक्रियाले तल्लो तटीय बस्ती, सडक, पुल र अन्य पूर्वाधारमा ठुलो क्षति पुर्याउन सक्छन्।
अध्येता डा नेपालले जोखिममा रहेका देशहरूको अनुकूलन क्षमता बढाउन विकसित देशले बलियो सहयोग दिनुपर्ने ठान्छन्। ‘यस सन्दर्भमा पूर्वसूचना प्रणाली सुधार, पर्याप्त जलवायु वित्त, हिमाली क्षेत्रमा प्रभावकारी अनुगमन र विपद्को श्रृखलाबद्ध असरको पूर्वानुमान गर्न सक्ने संस्थागत क्षमता विकास महत्त्वपूर्ण छ, ’ उनको भनाई छ।
वैज्ञानिकका अनुसार हिमनदी, हिमआवरण, चट्टान खस्ने सम्भावना, वर्षा र नदीको बहावको एकीकृत अनुगमन गर्न सके यस्ता घटनाको जोखिम बुझ्न र सम्भावित विपद्का लागि तयारी गर्न सहयोग पुग्न सक्छ। त्यसका लागि उपग्रहबाट प्राप्त तस्बिर, वर्षासम्बन्धी तथ्याङ्क, स्थलगत अध्ययन र नदीको बहाव मापनलाई एकीकृत गर्दै वैज्ञानिक निष्कर्षलाई जोखिममा रहेका समुदायसम्म समयमै पुर्याउनुपर्ने देखिन्छ।
‘विपद्को जोखिम न्यूनीकरणका लागि बाढीभन्दा छिटो प्रवाह हुने पुर्वसूचना प्रणाली सुनिश्चित गर्न अत्यावश्यक भैसकेको छ, ’ नेपालको भनाई छ।

प्रतिक्रिया